अन्तर्राष्ट्रिय

जापानमा संकटकाल घोषणापछिको पहिलो दिनमै सङ्क्रमितको संख्यामा बृद्धि

एजेन्सी । जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको छ ।
जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

योसँगै जापानमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल संख्या चार हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।
कोरोनाको सङ्क्रमण थप फैलिदै जाने देखेर जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार संकटकालको घोषणा गरेका थिए ।

संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो ।
जापानमा अहिलेसम्म कुल सङ्क्रमित मध्ये सवैभन्दा धेरै राजधानी टोकियोमै रहेका छन् । टोकियोमा एक हजार ३३९ जना संङ्क्रमित हुँदा दोस्रो धेरै संक्रमित भएको ओसाकामा ४८१ जना संक्रमित रहेका छन् ।

त्यसैगरी कानागावामा ३३२ जना, चिबामा ३०७ जना, ऐची क्षेत्रमा २६० जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कुल विरामी मध्ये ८८ जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक हजार २४२ जना भने निको भएर घर फर्किएका छन् ।