राजनीति

रवीन्द्रको देउवासँग कुराकानीः महासँकट समाधानका लागि अग्रसरता लिन आग्रह

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासंग टेलिफोन वार्ता गरेका छन् । संयोजक मिश्रले टेलिफोन वार्तामा भएका कुराकानीको बारेमा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । संयोजक मिश्रले सभापति देउवालाई उच्च स्तरीय राजनीतिक सर्बदलीय संयन्त्रको प्रस्तावमा जोड दिन र प्रमूख प्रतिपक्षी दलका नेताको रूपमा अग्रसरता लिन आग्रह गरेको बताएका छन् ।

संयोजक मिश्रले के के कुराकानी गरे त ? उनकै शब्दमाः

“पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्वाद”

सन्सारका अन्य ठाउँमा संक्रमण कम भएर गयो भने हामी पनि सुरक्षित हुने हो, अन्यथा स्थिति सोचेभन्दा धेरै भयावह हुन सक्छ। असर चौतर्फी र दूरगामी प्रकृतिका हुनेछन्।

यो अभूतपूर्व संकटको सामना गर्न साझा पार्टीले बारम्बार ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’ निर्माण गरी सबै मिलेर संकटको सामना गर्न सरकारलाई सुझाउँदै आएको छ।

सोही प्रस्तावमा जोड दिन र प्रमूख प्रतिपक्षी दलका नेताको रूपमा अग्रसरता लिन आज मैले भूतपूर्व प्रधानमन्त्री शेरबहादर देउवालाई फोनमा आग्रह गरेँ।

उहाँले बर्तमान स्थिति र प्रधानमन्त्रीको ‘उदाशीन’ कार्यशैलीप्रति गम्भिर चिन्ता व्यक्त गर्नुभयो। र, संकटको सामान गर्न सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो।

मैले “समाज र देश नै संकटमा परे राजनीतिक दलहरू स्वतः संकटमा पर्ने” उल्लेख गरेँ।

अहिलेको अवस्थामा सबै मिलेर सरकारलाई नै सहयोग गर्नु हामी सबैको दायित्व हो। साझा पार्टीले बाहिर छुट्टै संयन्त्रको प्रस्ताव गरेको होइन।

‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’ले सरकारका लागि सल्लाहकारीय भूमिका मात्र निर्वाह गर्नेछ। कार्यकारी भूमिकामा त सरकार स्वयं छंदैछ।