प्रदेश 1

बोर्ड र आयोजनाको कम्जोरीः अनुगमन समिति

२५ चैत्र धरान । धरानमा खानेपानी वितरणमा चरम लापारवाही भएको पाइएको छ । एक महिनादेखि टोलमा पानी नआउंदा समेत मर्मत र वितरणमा संवेदनशीलता नदेखाएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

उनीहरुले खानेपानी संस्थान र खानेपानी व्यवस्थापन बोर्डमा समस्या राखेको एक महिनासम्म पनि समाधान नभएपछि उपमेयर मञ्जु भण्डारीको घर नै घेरेका छन् । धरान १५ सयपत्री मार्ग र मदन आश्रित मार्गका उपभोक्ताहरुले विहानै घर घेरेको हो । उपमेयर भण्डारीले प्राविधिकलाई समस्या बुझ्न निर्देशन दिईसकेको बताइन् ।

त्यसतै धरान १५ कै भानुमार्गमा १ दिन विराएर दिने गरेकोमा त्यो पनि बन्द भएको स्थानीय विजय श्रेष्ठले बताए । उनले थपे खानेपानी आउदापनि मोटर लाउनुपर्ने वाध्यता छ यो आयोजना फेल भईसक्यो अब नयां विकल्प खोज्नु पर्ने वेला भयो ।

खानेपानी उत्पादन र वितरणका लागि दक्ष जनशक्ति, अनुभव र प्राविधिक हिसावले खानेपानी व्यवस्थापन बोर्ड पूर्ण सक्षम नहुंदै असफल तथा अधुरो र अपुरो खानेपानी आयोजना हतार हतार जिम्मा लिईएको, आयोजनाले सम्झौता बमोजिम पानी उत्पादन गर्न नसकेको र संस्थानको हातखुट्टा बांधिएको कारण धरान १५ मा मात्र होइन सबै वडामा समस्या आएको अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले बताए ।

अहिले खानेपानीको समस्या आयोजना, बोर्ड, संस्थान कसलाई भन्ने जनतानै अन्यौलमा परेका छन् । आयोजनाले १ करोड ५२ लाख २० हजार लिटर पानी दैनिक उत्पादन गर्नुपर्नेमा पूर्ण क्षमतामा उत्पादन गर्दा पनि औसत ६० लाख लिटर मात्र उत्पादन हुने गरेकाले हाहाकारको स्थिति सिर्जना भएको उनले बताए ।

आयोजना प्रमुख, परामर्शदाता, ठेकेदार र एडिवीको प्रतिनिधिसंग आवश्यक छलफल गरी सम्झौता बमोजिम पानी उत्पादन गर्न आवश्यक थप वेल जडान नगरिएमा र वितरण प्रणालीमा पनि सुधार नगरिएमा सुख्खा याममा समस्या झन भयावह हुंदै जाने उनले बताए ।