कृषि

कालीमाटीमा केही दिन फलफुल तथा तरकारीको कारोबार नहुनेः कहाँ–कहाँ पाईन्छ त किन्न ?

काठमाडौं । काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा केही दिन फलफुल तथा तरकारीको कारोबार नहुने भएको छ ।

कालीमाटी बजारमा तरकारी र फलफुल किन्न जानेको भिड लाग्ने गरेपछि काठमाण्डौका विभिन्न ११ ठाउँबाट तरकारी तथा फलफुल बेच्ने निर्णय गरिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अब केही समय कालीमाटीमा तरकारी तथा फलफुलको भण्डरण मात्र गरिने छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि बजारबाट कारोबार नगर्ने निर्णय गरिएको उनले बताए । लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकोमा भिड बढेपछि काठमाण्डौका विभिन्न ११ वटा ठाउँमा तरकारी बिक्रीको व्यवस्था गरिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक र बसुन्धरा चोकमा तरकारी पसल खोल्ने निर्णय गरेको छ । यस्तै गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तरकारी पसल खोलिने समितिले जनाएको छ ।