अन्तर्राष्ट्रिय

साउदी अरबमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा सङ्क्रमण हुनसक्नेः स्वास्थ्य मन्त्री

एजेन्सी । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिएको जनाएको हो ।

स्वास्थ्यमन्त्री तफिक अल रवियाले भने, “अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने बताएका छन् । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।”

विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ ।