पु.समाचार

सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊः महासङ्घ

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ‘लकडाउन’का समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहज परिस्थितिका बीच अनेकौँ कठिनाइ र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताएका छन् ।

संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्नसमेत महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ । विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार सङ्कलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।