समाचार

रोजगारीबाट फर्केका नौ सहित ३१ क्वारेन्टाइनमा

तेह्रथुम । रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित नौ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ । काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राखेको हो ।

इटहरीबाट हिँडेर आइपुगेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काले बताए । भारतको दार्जिलिङ क्षेत्रमा फेरी लगाएर फर्किएका नौसहित १५ जना फेदाप गाउँपालिकामा र सात जना आठराई गाउँपालिकामा गरी जिल्लामा जम्मा ३१ जना क्वारेन्टाइनमा रहेका सहायक प्रजिअ खड्काले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा रहेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आगलागीबाट बीस हेक्टर वन नष्ट

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको हात्तीआहाल सामुदायिक वनमा सोमबार अपराह्न आगलागी हँुदा २० हेक्टर वन जलेको छ । आगलागीबाट सिसौ, साल, सल्लो र लोपोन्मुख सतिसाल गरी ५०० रुख जल्दा करिब रु १० लाख बराबरको क्षति भएको लालीगुराँस नगरपालिका–८ वडा अध्यक्ष तुसलीराम खनालले बताए ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको पहलमा आगलागी नियन्त्रण भए पनि आगलागीका कारण खुल्न नसकेको प्रहरी चौकी लसुनेका प्रमुख महानन्द दुलालले बताए ।