सुदूरपश्चिम

कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई बढाइयो कदम

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी नेपाल प्रवेश गरे त्यसबारेमा जानकारी लिइएको छ । सशस्त्र प्रहरी बल ३५ गण झलारी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, नेपाली सेना, वेदकोट नगरपालिका र स्वाथ्यकर्मीलगायतको प्रयासले कञ्चनपुरमा देखिएको कोरोनाको चेन पत्ता लगाई आवश्यक कदम चालिएको उनले बताए ।

देश पूरै लकडाउन र सम्पूर्ण सीमानाका बन्द रहेको अवस्थामा यही चैत १४ गते दिनको १२ बजे ११ व्यक्ति भीमदत्त नगरपालिकाको विकट खल्ला मसेट्टी क्षेत्रमा ज्यानको बाजी थापेर ट्युबमार्फत महाकाली नदी तरेर नेपाल प्रवेश गरे । सीमा गस्तीमा रहेको सशस्त्र प्रहरी बल, बिओपी (बोर्डर आउट पोष्ट) ब्रह्मदेवका पाँच जनाको टोलीले ट्युबमार्फत महाकाली तर्ने ११ जनालाई ठाउँको ठाउँ नियन्त्रणमा लियो । ट्युबमा तार्ने दुई जनाको संलग्नता रहेको पाइयो ।

“नियन्त्रणमा लिइएकालाई व्यक्तिगत विवरण भर्न र स्वास्थ्य जाँच गर्न दिनको ४ बजे गड्डाचौकी ल्याइयो”, सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, “गड्डाचौकीमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्नेदेखि क्वारेन्टाइनको व्यवस्था गर्ने काम भयो । सोही दिनको रात ९ बजेर ३० मिनेट जाँदा उनीहरुलाई वेदकोट, सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा पुर्याइयो ।”

नियन्त्रणमा रहेकाहरुलाई क्वारेन्टाइनसम्म ओसार्न सशस्त्र प्रहरी राजश्व गुल्म, गड्डाचौकीका थप नौ सशस्त्र प्रहरी, यातायात सेवा दिने तीन (सवारी धनी, चालक र सहचालक) को सहयोग रहेको थियो । नियन्त्रणमा लिइएकामध्ये एक जनाको पोजेटिभ रहेको पुष्टि भएसँगै उनलाई कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारर्थ भर्ना गरिएको छ । नियन्त्रणमा लिइएका १० जनाको रिपोर्ट नेगेटिभ रहेको र उनीहरु वेदकोटको क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका अन्य १७ सशस्त्र प्रहरी र सवारी चालकलगायतको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा चैत २० गते वेदकोट–९ सुन्दरपुरस्थित क्वारेन्टाइनमा राखिएका ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा चैत २२ गते रिपोर्ट आएको थियो । कञ्चनपुरका कोरोना सङ्क्रमित व्यक्तिलाई महाकाली नदीमा ट्युबमार्फत तार्न सहयोग गर्ने दुई जनालाई क्वारेन्टाइमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका दुवै जनाको स्वाब परीक्षणका लागि तयारी भइरहेको छ ।

सीमावर्ती भारतीय बजारमा २३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति नपाएपछि भारतीय भूमिमै नेपालीहरु बस्न बाध्य भएका छन् । भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्कनका लागि आउने नेपालीलाई भारतको उत्तराखण्ड प्रदेशको वनवसा, टनकपुरलगायत क्षेत्रमा क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सीमावर्ती भारतीय बजार बनवसा र टनकपुरमा गरी २३८ जनालाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेका नेपालीको खाने र बस्ने व्यवस्था भारतीय प्रशासनले मिलाएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार नौ वटै स्थानीय तहमा भारतलगायतका अन्य मुलुकबाट गरी पाँच हजार ४२२ भित्रिएका छन् । भारत, कतार, मलेशिया, युएई र साउदी अरेबियालगायत देशबाट नेपाली भित्रिएका हुन् । भारतबाट भित्रिनेको सङ्ख्या बढी रहेको छ ।

विदेशबाट भित्रिएकाहरु घरमै क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा क्वारेन्टाइन श्यया ४०६ रहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको सङ्ख्या भने २१० रहेको छ । आइसोलेटेड श्ययाको सङ्ख्या १९ रहे पनि आइसोलेसनमा कोही पनि बसेका छैनन् । पिपीइ ९स्वास्थ्य सुरक्षा उपकरण०को सङ्ख्या १७१ रहेको छ । हालसम्म तीन स्थानीय तहले सरकारको मापदण्डानुसार ४२० परिवारलाई राहत वितरण गरेका छन् ।