प्रवास

नेपालका युवा दिवेश चर्चित अमेरिकन आइडलको शीर्ष २० मा पुग्न सफल

एजेन्सी । चर्चित सिङ्गीङ रियालीटी शो, अमेरिकन आइडलमा दमदार प्रस्तुति दिँदै आएका नेपालका दिवेश पोखरेल शीर्ष २० मा पुग्न सफल भएका छन् । यसअघि पनि उनको प्रस्तुतिले ‘स्ट्यान्डिङ अवेसन’ पाएको थियो ।

यसरी सबैमाझ राम्रो प्रभाव पार्न सफल दिवेसको स्वभावदेखि उनको गायन कला सबै आफूहरुलाई अत्यन्तै मन परेको भन्दै जजहरुले पुनः उनको तारिफ गरेका हुन् । अमेरिकन आइडलको शीर्ष २० छनोटमा निर्णायकको भूमिका निकै चुनौतीमय भए पनि दिवेशलाई अगाडि लैजाने निर्णय चाहिँ आफूहरुका लागि सबैभन्दा सजिलो भएको उनीहरुले बताए ।

स्टेजमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिने गरेका दिवेशले यसपटक लेजेन्डरी गायक बब मार्लीको गीत गाएका हुन् जहाँ उनको पूरै परिवार पनि उपस्थित थियो । जजहरुले यसअघिको प्रस्तुतिमै उनमा बब मार्लीको झलक देखा पर्ने बताएका थिए ।

दिवेशले भने आफू यति ठूलो प्लेटफर्ममा यहाँसम्म आइपुग्ने अपेक्षा नगरेको बताएका हुन् । उनले अमेरिकन आइडलको यात्रा अत्यन्तै उत्साहजनक र लामो भएको समेत बताए । धेरै मान्छेहरुको अगाडि प्रस्तुति दिनु आफ्ना लागि नयाँ कुरा भएकाले पनि यात्रा चुनौतिमय रहेको उनी बताउँछन् ।

यता जजहरुले पनि पहिलोपटक उनी स्टेजमा आउँदा के अपेक्षा गर्ने भन्ने थाहा नभएको तर उनले मुख खोलेर गाएपछि भने उनको आवाजले मोहित भएको र उनको कलाको पहिचान गर्न समय नलागेको बताए ।