अन्तर्राष्ट्रिय

लकडाउन पछिको योजना बनाउन मन्त्रीहरुलाई मोदीको निर्देशन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनपछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका छन् । उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरूलाई सोमबार निर्देशन दिएका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दीर्घकालिन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनुपर्नेमा प्रधानमन्त्री मोदीको जोड थियो ।

आफ्नो मन्त्रीपरिषद्का सदस्य मन्त्रीहरुसँग सोमबार भिडियो बैठक गर्दै उनले कोरोनापछि “भारत बनाऔँ” अभियान चलाउने गरी कार्यक्रमहरू ल्याउनुपर्ने बताएका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट शिक्षा लिँदै सङ्कटलाई अवसरको रूपमा सदुपयोग गर्नु पर्नेमा पनि जोड दिएका छन् । प्रधानमन्त्री मोदीले अहिलेको सङ्कटबाट चिकित्सा क्षेत्रलाई आत्म निर्भर बनाउनु पर्ने पाठ सिकिएको पनि बताएका छन् ।

आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरूको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरू ल्याउन उनले आह्वान गरेका हुन् । प्रधानमन्त्री कार्यालयारा जारी वक्तव्यमा प्रधानमन्त्री मोदीले प्रान्तीय तथा जिल्लास्तरीय प्रशासनलाई सङ्कट निवारणका लागि पर्याप्त रूपमा परिचालन गर्न तथा उनीहरुसँग राम्रो सम्पर्कमा रहन पनि आग्रह गरेको उल्लेख छ ।

उनले सङ्कटका कारण उत्पन्न पछिल्लो अवस्थाका बारेमा वास्तविक अवस्था अध्ययन गरी समस्याहरूको समाधानका उपायहरू पिहल्याउन लगाएको वक्तव्यमा जनाइएको छ । पर्याप्त अनुगमन गर्न र गलत गर्नेहरुलाई कारबाही गर्न पनि प्रधानमन्त्री मोदीले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

उनले कोरोना विरुद्धको लडाई सकिएपछि देशलाई पहिलाभन्दा राम्रो अवस्थामा पुर्याउनु पर्ने र त्यसका लागि युद्धस्तरमा काम गर्नुपर्ने बताए । भारतमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लागु हुनेगरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन गरिएको छ ।

लकडाउन लागुभएपछि प्रधानमन्त्री मोदीले पहिलो पटक भिडियो मार्फत् मन्त्रीपरिषद्को बैठक बसालेका हुन् । यसैबीच प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईलाई थप प्रभावकारी बनाउन अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने तयारी गेका छन् । भारतीय कम्युनिष्ट पार्टीका नेता डी राजले राजनीतिक दलका नेताहरुसँग छलफल गर्न आग्रह गर्दै सोमबार प्रधानमन्त्री मोदीलाई पत्र लेलेका थिए ।

“यो विषम परिस्थितिमा सबै राजनीतिक दलहरूले संयुक्त बल लगाएर कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्नु पर्दछ, सवै दलहरुले हातेमालो गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा काम गर्नु पर्ने देखिएको छ, ” उनले पत्रमा लेखेका छन् ।

त्यसका लागि प्रधानमन्त्री मोदीले नेतृत्व र सक्रियता देखाउनुपर्नेमा पनि नेता राजले पत्रमा उल्लेख गरेका छन् । उनले सवै दलका नेताहरूसँग प्रधानमन्त्री मोदीले भिडियो बैठक गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

कानुन मन्त्री प्रल्हाद जोशीले जारी गरेको वक्तव्यमा लेखिएको छ, “प्रधानमन्त्री मोदीले यही अप्रिल ८ तारिखका दिन बिहान ११ बजे संसदमा पाँचभन्दा बढी सदस्य रहेका दलका नेताहरुसँग भिडियो बैठक गर्नेछन् ।