पु.समाचार

वैशाख ३ गते राति १२ बजेसम्मका सम्मका लागि लकडाउन थपियो

काठमाडौं । सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नाका लागि अन्तरराष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
सरकारले संक्रमण रोगसम्बन्धी ऐन, २०२० अनुसार यही चैत ११ देखि १८ गते राति १२ बजेसम्मका लागि लकडाउन जारी गरेको थियो । सरकारले नाकाहरु बन्द गरे पनि ढुवानीलाई भने कायमै राखेको छ । त्यसैगरी स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न एक पटकका लागि रु एक हजार ५०० एकमुष्ट सहयोग गर्ने निर्णय गरिएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने,“निजी क्षेत्रका चिकित्सकहरुलाई सरकारी अस्पतालमा आएर सेवा दिन चाहेमा सरकारी सेवा सुविधाअनुसार नै मिलान गरेर काममा लगाउन सकिने व्यवस्था गरिने भएको छ । यदि निजी अस्पतालमै बसेरै कोरोनासम्बन्धी उपचारमा संलग्न हुने स्वास्थ्य स्वयंसेविकालाई पनि सरकारी सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ ।”

सरकारले क्वारेनटाइनमा १४ दिन बसेका संक्रमणको सम्भावित भएका व्यक्ति ¥यापिड डाइनाष्टिक टेष्ट गरेर छाड्ने तर त्यसपछि पनि सात दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ । होम क्वारेनटाइनमा बसे नबसेका बारे स्थानीय तहले निगरानी गर्ने छ ।
मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीहरुलाई कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने थप जिम्मेवारी दिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।