विचार/ब्लग

कोरोना फ्री मुलुकका लागि संकटकाल, कफ्र्यु भन्दा महत्वपूर्ण स्थानीय तहको भूमिका

कृष्ण बहादुर खड्का / बिश्वभर कोरोना संक्रमितको संख्या १२ लाख भन्दा बढी छ, कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७० हजार भन्दा बढी भएको छ । यस अवस्थामा माहाशक्ती राष्ट्र अमेरिका लगायतका बिश्वका झण्डै दुई सय मुलुकहरु कोरोना संक्रमणको पीडामा छट्पटाईरहेका छन् । नेपालले बिश्वका शक्तीसाली देखी सामान्य मुलुकमा भएको कोरोना नियन्त्रणको अनुभबलाई हेरेर यसको संक्रमण रोक्न लाग्नु नै सबैभन्दा महत्वपूर्ण हुन आउँछ । नेपालले चीनको सफलता झनै हेर्न आवश्यक छ भने अमेरिकाले कोरोना संक्रमण रोक्न खेलेको असफल भूमिकालाई पनि मध्यनजर गर्न जरुरी छ ।

अमेरिकामा चार जना नेपालीहरुको कोरोना संक्रमणका कारण मृत्यु हुनु तीन करोड नेपालीका लागि दुःखको कुरा हो तर नेपालमा पनि संक्रमितहरु बढीरहँदा अलि बढी युद्धस्तरमा सरकार तथा सरोकारवाला खट्नुपर्ने देखिन्छ ।

केहीदिन अगाडी तिनजनामा कोरोना संक्रमण देखिपछि र एकजना नेपालमै बस्नुभएका नेपालीलाई कोरोना संक्रमणले भेटेपछि केन्द्र सरकार अत्तालिएको छ, अत्तालिएपनि सरकारले गरेका पछिल्ला निर्णयहरुलाई विवेकपूर्ण नै मान्नुपर्छ । प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतले आफूलाई प्रतिपक्षी भन्दा सत्तापक्षकै जसरी सरकारलाई सघाईरहेका छन् त्यो कुरालाई सरकारले नजरअन्दाज नगरी अवशरको सदुपयोग गरी कोरोना नियन्त्रण रोकथाममा महत्वपूर्ण भूमिका खेल्न जरुरी छ ।

पछिल्लो समयसम्म आउँदाखेरी प्रदेश र स्थानीय तहको भुमिका सन्तोषजनक देखिएको छैन । अब कुनैपनि हालतमा ६७ सय भन्दा बढी वडा र ७५३ वटा स्थानीय तहले आफ्नो उपस्थिती जनाउन जरुरी छ ! कोरोना संक्रमण रोक्न हात धुन, स्यानिटजर प्रयोग गर्न, भिड्भाडमा जान नदिन, बिदेश वा स्वदेश जहाँ भएपनि बाहिरबाट आएकालाइ परिक्षणको लागि अनिबार्य गर्न, घर तथा किचेन सफा राख्न, खाना समयमा खान अनि समयमा सुत्न (जस्ले गर्दा ज्वरो आउनेरटाउको दुख्ने जस्ता समस्या आउन्न), खान गाह्रो हुने मजदुर( विद्यार्थी (वा जोकोहिको रेकर्ड राखी राहत उपलब्ध गराउने ब्यबस्थापन गर्ने लगायतका कार्य गर्न स्थानीय तहको भूमिका हुन अत्यन्तै जरुरी देखिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेमा स्थानीय तह स्वत बलिया हुन्छन् र स्थानिय तहको महत्व पनि थप बढेर जान्छ ।

केन्द्र सरकारको हस्तपक्षेपकारी नीतिले हो वा स्थानीय तहको असक्षमताले हो वा संबिधानले अधिकार नदिएका कारण हो जे सुकैभएपनि बर्तमान माहामारी नियन्त्रणका लागि सबैखाले बाटा खेलेर स्थानीय तहलाई जिम्मेवारी दिनैपर्छ । सानो निर्णय गर्न समेत मन्त्रीपरिषद, कोरोना नियन्त्रण, रोकथाम तथा उपचार समिति, स्वास्थ मन्त्रालयले मात्र भुमिका खेल्ने हो भने न स्थानीय तहको औचित्य हुन्छ, न कोरोना संक्रमण नियन्त्रण नै प्रभावकारी हुन्छ न स्थानीय तह बलिया हुन्छन्, खाली नाममात्रका स्थानीय तह भईरहन्छन्।

अर्को महत्वपूर्ण पाटो के छ भने सिंहदरबार बस्ने मन्त्रीहरूलाई भन्दा वडाध्यक्ष्य, वडा सदस्यलाई बाहिरबाट आएकाको बारेमा प्रत्यक्ष जानकारी हुन्छ, मेयर-उपमेयर, प्रमुख-उपप्रमुखले स्थानीयको बारेमा जानकारी राखेका हुन्छन्, उहाँहरु सकृय हुन जरुरी छ, संबधित क्षेत्रको प्रदेश वा संघीय साम्सदले स्थानीय तहलाई सकृय बनाएर अगाडि नबढे (देशभर जम्मा १३० भेन्टिलेटर छन् भन्ने सुनेको छु) मुलुकले आर्थिक त छँदैछ ठुलो मानवीय क्षती ब्यहोर्नुपर्ने हुन सक्छ । आवश्यक परे संकटकाल लागाउँ, आवश्यक परे कर्फ्यु लगाउँ तर त्यो भन्दा उत्तम उपाय भनेको स्थानिय तहको कृयासिलता नै हो ।

राहत बाँढ्दा वा अरु कुनै सेवा गर्दा राजनीतिक पुर्बाग्रहका अधारमा भने गर्नै हुन्न, अहिले पार्टी र देश भन्दा मानवता सोच्ने बेला हो भन्ने तीनै तहका सरकार वा जोकोहीले सोच्नेबेला आएको छ । नाका पुर्ण बन्द गर्नुपर्छ, शनिबारमात्र सरकारले एक स्थानीय तहबाट अर्को स्थानिय तहमा कसैले जान नपाउने निर्णय गरेको छ त्यो स्वागतयोग्य छ, यसलाई प्रभावकारी बनाउन भने सबैले भूमिका खेल्नैपर्ला ।

अब स्थानीय तहलाई जसोरीपनि हतियारसहित कृयाशियल बनाउनेतर्फ लाग्नु उपर्युक्त हुन्छ । हतियार भन्नाले स्वास्थयकर्मी, स्वयम्शेवक लगायत कोरोना नियन्त्रण तथा रोकथाममा खटिनेहरुलाई पिपिइ, राहत लगायतका कोरोना संक्रमण रोकथामका लागि चाहिने समानहरु दिनुपर्छ । अझ स्वास्थ्यकर्मी पनि स्थानीय तहकै अण्डरमा हुन जरुरी छ, उनिहरुबाट माथिल्लो तहमा तत्काल रिपोर्टिङ हुनुपर्छ । सचेत भै स्थानीय तहलाई कृयाशिल बनाउने तर नआत्तिइ शंका लागेका वा बाहिरबाट आएकामा नेपालभर कम्तीमा २ लाखलाई कोरोना परीक्षण गरेपछि मात्र कतिलाई कोरोना संक्रमाण र छ पत्ता लाग्छ । अहिले १५ सयलाईमात्र कोरोना परीक्षण गरेर ९ जनामात्र कोरोना संक्रमित छन् भनेर ढुक्क भएर हुन्न । काठमाडौंमा एकजनाको मात्र कोरोनाको कारण ज्यान गयो भने नेपालीहरुको मनोबल कस्तो होला बिचार गरौं ! घर बाहिर ननिस्कौ ! कोरोनाबाट आफुपनि बचौं अरुलाई पनि बचाऔं !