बाग्मती

कोरोना भाइरसको जोखिम नियन्त्रण र राहतमा एक करोड ५० लाख खर्च

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरस, (कोभिड–१९) को सम्भावित जोखिम नियन्त्रण तथा लकडाउनपछि नगरवासीको राहतमा रु एक करोड ५० लाख खर्च गरेको छ ।

नगरप्रमुख प्रमुख घनश्याम गिरिले केरोना भाइरसको उपचारमा सम्लग्न हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) खरिदमा रु ३२ लाख र नगरपालिकाभित्र गरीव तथा विपन्न वर्गलाई राहतका लागि रु एक करोड १५ लाख खर्च भएको जानकारी दिएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रु ७५ लाख रकम विनियोजन गरेको थियो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न लागेको जानकारी दिएका छन् । “आ–आफ्नो ढङ्गबाट राहत वितरण गर्दा कतिपय गरीब मजदूरहरु राहत पाउनबाट छुटेपछि नगरपालिकाले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न लागेको हो,”–उनले भने ।

नगरपालिकाले तयार गरेको मापदण्डमा तीन जनाको परिवारसम्मलाई दश केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन रहेको छ । राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफुले गर्दै आएको काम, घरधनीको नाम र घरधनीको सम्पर्क नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।

सो भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि विशेष गरी दैनिक मजदूरी गरेर गुजारा गर्दै आएका विपन्न परिवारलाई समस्या भएको जनाइएको छ ।

नगरपालिकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घ संस्थालाई नगरपालिकाको नेपाल बैँक लिमिटेड थानकोट शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं १४३००१०६२९३६६५०००००१ मा जम्मा गर्नसमेत अनुरोध गरेको छ । उक्त खातामा हाल रु १४ लाख रहेको समेत नगरपालिकाले जनाएको छ ।