अन्तर्राष्ट्रिय

स्पेनमा लगातार तेस्रो दिन कोभिड–१९का नयाँ सङ्क्रमित र मृतक सङ्ख्यामा कमी

म्याड्रिड, स्पेन । स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक तथ्याङ्कमा बताइएको छ । लगातार तेस्रो दिन नयाँ सङ्क्रमण र सङ्क्रमितको मृत्युमा कमी देखिएको मन्त्रालयले जानकारी गराएको छ ।

शनिबार र आइतवारबीचको २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या छ हजार २३ रहेको छ यो शनिबारको तुलनामा करिब एक हजारको कमी हो । सङ्क्रमितको सङ्ख्या शनिबार सात हजार २६ थियो भने शुक्रबार सात हजार ४७२ रहेको थियो । आइतबारसम्म स्पेनमा सङ्क्रमितको सङ्ख्या एक लाख ३० हजार ७५९ पुगेको छ ।

त्यस्तै स्पेनमा विगत २४ घण्टामा ६७४ व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । अघिल्लो दिनभन्दा आइतबारको मृतकको तथ्याङ्क १३५ ले कमी हो ।

यसैबीच, स्पेनमा कोभिड–१९ को उपचारका लागि अस्पतालमा भर्ना भएका ब्यक्तिको सङ्ख्या ५८ हजार ७४४ रहेको छ भने यो सङ्ख्या अघिल्लो दिनको सङ्ख्याभन्दा एक हजार १३२ ले बढी हो । त्यस्तै यहाँ जटिल सङ्क्रमण भएका करिब छ हजार ८६१ जनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखी उपचार भईरहेको छ । यो पछिल्लो २४ घण्टामा ३२९ व्यक्तिलाई आईसीयूमा भर्ना गरिएको छ ।

स्पेनको बढी प्रभावित क्षेत्र म्याड्रिड र क्याटालान क्षेत्र हुन् । म्याड्रिडमा चार हजार ९४१ जनाको उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ भने ३७ हजार ५८४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । क्याटलान क्षेत्रमा दुई हजार ६३७ जनाको मृत्यु भएको र २६ हजार ३२ जना सङ्क्रमित छन् ।

त्यस्तै, स्पेनमा आइतबारसम्म निको भएर घर फर्केका विरामीको सङ्ख्या ३८ हजार ८० पुगेको छ । यो अघिल्लो दिनभन्दा तीन हजार ८६१ व्यक्ति निको भएर घर फर्किएका छन् ।

शनिबार स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले देशवासीका नाममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गरेका थिए । सम्वोधनमा उनले गत मार्च १४ मा घोषणा गरेको कोभिड–१९ विरूद्धको सतर्कता यही अप्रिल १२ गते समाप्त हुने भनिएको भएपनि यसलाई थप दुई हप्ता बढाई अप्रिल २५ सम्म पु¥याइएको जानकारी गराएका थिए।

उनले देशव्यापीरूपमा लागु गरिएको लकडाउनका कारण नयाँ सङ्क्रमितको सङ्ख्यामा सामान्य कमी आएकोले स्पेनले यही उपायलाई आगामी केही साता कडाईका साथ लागु गर्नुपर्ने बताएका थिए। राज्यद्वारा जारी सङ्कटका समयमा सतर्कता अपनाउने निर्देशन समाप्त भएको केही हप्तासम्म नागरिकको तर्फबाट सावधानी अपनाएमा कोरोनाविरूद्धको लडाईमा सफलता मिल्ने बताएका थिए ।