सुदूरपश्चिम

धनगढीका युवा उद्यमी ऐरद्वारा राहत सहयोग वितरण

कैलाली २२ चैत । धनगढी नगर विकास समितिका पूर्व अध्यक्ष एवं युवा उद्यमी दिपबहादुर ऐरले दैनिक ज्यालामजदुरी गरेर खाने अति विपन्न समुदायलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री सहयोग गरेका छन् ।

आफ्ना स्वर्गीय पिता वीरबहादुर ऐरको स्मृतिमा गरिब तथा अतिविपन्न परिवालाई रु. २१ हजार बढीको खाद्यान्न सामाग्रीहरु प्रदान गरेको उनले जानकारी दिए । उक्त राहत सहयोग सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्त र वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले विपन्न परिवारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

मुलुकभर लकडाउन लागु भएको विषम परिस्थितिमा धनगढी उपमहानगरपालिका– ३ मा संकटमा परेका अति विपन्न समुदायको दयनीय अवस्था देखेर उक्त खाद्यान्न सामाग्री सहयोग गरेको युवा उद्यमी ऐरले जानकारी दिए । निस्वार्थ भावले गरेको उक्त सहयोगले मनमा आनन्द आएको बताउँदै उहाँले आगामी दिनमा अरु थप सहयोग गर्ने योजनामा रहेको सुनाए ।