कर्णाली प्रदेश

मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनमा रहेका नेपालीको अवस्थाबारे जानकारी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुक्खा बन्दरगाहका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रदेश नं ५ को बाँकेको जमुनाह सुक्खा बन्दरगाहमा अस्थायी पाल टाँगेर बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य, खानपिन र बसोबास अवस्था बुझ्न शुक्रबार कानूनमन्त्री भण्डारीले स्थलगत अनुगमन गरेका थिए ।

भारतबाट आएकालाई भारत फर्काएर त्यहीको क्वारेन्टाइनमा राख्ने सहमति भए पनि नेपालीले नमानेपछि बाँके प्रशासनले बिहीबार क्वारेन्टाइनसहितको अस्थायी टेन्ट निर्माण गरेर उनीहरुलाई व्यवस्थापन गरेको थियो । क्वारेन्टाइनमा १७९ जनालाई राखिएको छ ।

मन्त्री भण्डारीले बाँके प्रशासनले गरेको प्रारम्भिक व्यवस्थापन सन्तोषजनक रहेको बताए । यसैगरी बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख, कर्णालीसहित त्यहाँका सबै सुरक्षाका प्रमुख र नेपाल रेडक्रसलगायतको सहभागितामा बसेको बैठकले यहाँको समग्र क्षेत्रको विषयमा आपसी समन्वय गरेर जाने निर्णय भएको उनले जानकारी दिएका छन् ।

मन्त्री भण्डारीले १४ दिनको क्वारेन्टाइनपछि समान्य अवस्थामा रहेका सबैलाई घरमा पठाउने व्यवस्था मिलाइने र कोभिड–१९ विरुद्धको अभियानमा अभियान्ताका रुपमा लाग्न प्रोत्साहित गरिने बताए । उनले शुक्रबार नै नेपालगञ्जस्थित नेपाल प्रहरीको क्षेत्रीय तालिम केन्द्रसमेतको निरीक्षण गरेका थिए ।