समाचार

मोरङमा कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार

काठमाडौं । मोरङमा एक कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । शुत्र्रबार साँझ ७ बजेतिर लकडाउन उल्लंघन रोक्न खोज्दा मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षका दिलिप तामाङमाथि छुरा प्रहार भएको भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताएका छन् ।

चीनबाट फैलिएको कोरोनाले महामारीको रुप लिएको बेला नेपाल सरकारले लगाएको लकडाउन उल्लंघन हुन नदिन गाउँहरुमा निरिक्षण गर्दै आएका तामाङले उल्लंघन रोक्न खोजेपछि उनिमाथि छुरा प्रहार भएको हो ।

डीएसपी गिरीका अनुसार लकडाउनको समयमा सवारी साधन कुदाउने, हिँडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ । त्यही विषयलाई लिएर स्थानीय २८ वर्षीय विजय लिम्बूसँग उनको विवाद भएको थियो ।

मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको जानकारी डीएसपी गिरीले दिए । छुरा प्रहारबाट तामाङको बायाँ छात्तीमा गहिरो चोट लागेको छ ।

उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले गराएको प्रहरीले जनाएको छ। साथै छुरा प्रहार गर्ने लिम्बुलाई पक्राउगरी अनुसन्धा सुरु गरिएको छ ।