गण्डकी प्रदेश

आफू पनि बचौं, अरुलाई पनि बचाऔं–तरुण दल कास्की

पोखरा । नेपाल तरुण दल कास्कीले लक डाउनको पालना गर्दै ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई पालना गर्न सबैसँग आग्रह गरेको छ ।

दलका तर्फबाट ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै दलका जिल्ला अध्यक्ष मनोज गुरुङले विश्वव्यापी बढीरहेको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको निर्देशनको पूर्ण पालना गर्न सबैमा आग्रह गरेका हुन् ।

महासङ्कटको यस घडीमा दलका सम्पूर्ण कमिटिमा आवद्ध पदाधिकारीलाई नियम कानूनको पालना गर्दै जिल्लावासीको दैनिकी सहज बनाउनमा सक्रिय भूमिका खेल्न पनि उनले आग्रह गरेका छन् । सरकारले स्वास्थ्यकर्मी, अस्पतालकर्मी एवम् एम्बुलेन्स चालकलाई पिपीइ उपलब्ध गराउनुपर्ने भन्दै दलले कोरोना सङ्क्रमणको परीक्षण कार्यलाई सहज र छिटो बनाउनुपर्ने तथा सामान्य उपचारका विरामीका लागि छुट्टै अस्पताल तोकिनुपर्ने माग गरेको छ ।

यसैगरी लक डाउनका कारण विभिन्न भागमा अलपत्र परेका प्रदेशवासीको उचित व्यवस्थापनका साथै अति विपन्न, ज्यालादारी मजदूरलाई राहत सामग्रीको वितरण एवम् पहुँचलाई सुनिश्चित गर्न दलले माग गरेको छ । खाद्यान्नको सहज उपलब्धताका साथै खरिद गरिएका सामग्रीको विश्वसनीयता, गुणस्तर र खरिद अपारदर्शिताबारे दलको ध्यानाकर्षण भएको भन्दै यसको सत्यतथ्य छानबिन र दोषी उपर कारवाहीको माग गरेको छ ।