गण्डकी प्रदेश

१०७ युनिट रगत सङ्कलन

पोखरा । जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ ।

रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै पोखरामा भित्र्याएको अत्याधुनिक उपकरणमैत्री बसको प्रयोग गरी पोखरा महानगरपालिका वडा नं ३३ र २१ का विभिन्न स्थानमा रक्तदान गरिएको हो ।

मञ्चले पोखरा–३३ भरतपोखरीका कालिकास्थान, महाकाली चोक, पानीटङ्की, बसपार्क, उपल्लो पुडिटार, जीब्रेढुङ्गा, शान्तिउदय, भगवती चौतारा, ठूलढुङ्गा र पोखरा–२१ को द्वारमा बसमार्फत रक्तदान गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिएका छन् ।

उनका अनुसार टोल विकास संस्था, सहकारी लगायतका सङ्घसंस्थाले रक्तदाता सङ्कलनमा योगदान पुर्याएका थिए । लकडाउनसँगै नियमित रक्तदान कार्यक्रम रोकिएपछि पोखरामा रगतको अभाव भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिएका छन् ।

विशेषगरी एबी पोजेटिभ र ए पोजेटिभ समूहको अझै अभाव भएको जानकारी दिदै उनले बसभित्र रक्तदान गर्न सकिने भएकाले लकडाउनका समयमा यो विशेष प्रभावकारी बनेको बताए ।