अन्तर्राष्ट्रिय

गभर्नर जस्टिसका कोइला खानीलाई ५० लाख डलर जरिवाना

चार्लस्टन, वेस्ट भर्जिनिया, २० चैत । संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनियाका सञ्चालनमा रहेका गभर्नर जिम जस्टिसका कोइला कम्पनीले खानीमा सुरक्षाका लागि तोकिएका सुरक्षा मापदण्ड उल्लङ्घन गरेको भन्दै ५० लाख अमेरिकी डलरको जरिवाना तोकिएको छ ।

स्थानीय समयअनुसार बुधबार अमेरिकी संघीय अभियोजनकर्ताहरूले गभर्नर जस्टिसले जरिवानाका लागि सहमति जनाएको जानकारी गराए ।

उक्त राज्यमा सञ्चालित ती कोइला खानीमा सन् २०१४ पछि खानी सुरक्षा मापदण्डका करिब दुई हजार ३०० उल्लङ्घनका घटनामा दोषी ठहर गर्दै अमेरिकी श्रम तथा खानी सुरक्षा र स्वास्थ्य प्रशासन मन्त्रालयमार्फत् गत वर्ष उक्त मुद्दा दर्ता गरिएको थियो ।

अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट गभर्नर निर्वाचित जस्टिसले वर्षौंदेखि कैयौँ संघीय निकायद्वारा जरिवानाका लागि गरिएको ताकेतालाई पटक पटक वेवास्ता गर्दै आएको अभियोजनकर्ताहरूले पत्रकार सम्मेलनमा बताए ।

श्रम तथा खानी सुरक्षा र स्वास्थ्य प्रशासन मन्त्रालयका उपमन्त्री ड्याभिड जि ज्याटेजालोले भन्नुभयो, “खानी सुरक्षा तथा स्वास्थ्य कानुनलाई उल्लङ्घन गरेबापत् वा खानीमा काम गर्ने श्रमिकको सुरक्षा र स्वास्थ्यको प्रत्याभूत गर्नुपर्ने अमेरिकी कानूनमा व्यवस्था भए बमोजिम खानीमा त्यो सुविधा नभएकोमा खानी सञ्चालकले जरिवाना तिर्नुपर्छ ।” जरिवाना नतिरेमा सञ्चालकहरूलाई खानी सञ्चालन गर्ने अधिकार हुँदैन ।

अभियोजनकर्ताहरूका अनुसार जस्टिसका परिवारले भर्जिनिया, वेस्ट भर्जिनिया, टेनिसी, अलावामा र केन्टुकीमा विभिन्न २४ खानी कम्पनी सञ्चालनमा ल्याएका अनुसन्धानका क्रममा पत्ता लागेको छ । जस्टिस परिवारले तिर्न सहमति जनाएको उक्त जरिवाना गत वर्ष मे महिनासम्मको हो । जस्टिस वेस्ट भर्जिनियाका धनाड्य व्यक्ति मानिन्छन् । उहाँको कोइला खानी र कृषिमा गरी यस क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको लगानी रहेको छ ।