बाग्मती

वडाध्यक्षद्वारा गाउँमा गस्ती

रसुवा । कोभिड –१९ बाट बच्नका लागि जनजागरण ल्याउन दक्षिणी रसुवाका लाङ्बु तथा थाङ्दोर क्षेत्रमा जनप्रतिनिधि आफैँले नियमित गस्ती गर्न थालेका छन् । नौकुण्ड गाउँपालिका वडा नं १ लाङ्बु, थाङ्दोर र सिङ्बन्दीसमेतका गाउँमा कोरोना भाइरसबाट सुरक्षित रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लागू गरेका मापदण्डको अधीनमा रही आफूले गाउँवासीमा चेतना दिलाएको वडाध्यक्ष कान्छा तामाङले बताए ।

त्यस क्षेत्रमा गत फागुन पहिलो हप्तादेखि हालसम्म विदेशबाट कुनै मानिस नआएको र गाउँबासीले नेपाल सरकारले लागू गरेको लकडाउनको नीति पूर्ण पालना गरिरहेको बताइएको छ । पारच्याङमा रहेको प्रहरी जाँचचौकीमा सुरक्षा जनशक्ति कम रहेको र नियमित प्रहरी जाने वातावरण नभएका समस्या आउँदा प्रहरीलाई तुरून्त खबर गर्ने गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जनताले सुरक्षा माग्नासाथ बन्दोबस्तकी सामानसहित प्रहरीको मोटर तुरून्तै पुग्ने व्यवस्था मिलाइएको बताए ।

यसै गरी नौकुण्ड गाउँपालिका वडा नं ५ का ठूलोभोर्ले, चित्ती, बडहरे, आँपचौर, खाल्चेतलगायत क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको वडाध्यक्ष घोन्टे ग्याम्दानले जानकारी दिए ।

पश्चिमी रसुवाको उत्तरगया गाउँपालिका २ डाँडागाउँको पनि जनजीवन सामान्य रहेको र विदेशबाट आउने मानिस नभेटिएको बताउँदै वडाध्यक्ष खुवाबहादुर गुरूङले कोरोना भाइरस रोकथामका लागि डाडाँगाउँका बासिन्दा सचेत रहेको बताए ।

लकडाउनपछि गोसाइँकुण्डका तीर्थयात्रु र पर्यटकको ओहरदोहर बन्द भइसकेकाले धार्मिक मार्गका व्यवसायस्थल सुरक्षित महसुस गरिएको चन्दनबारीका व्यवसायीले बताएका छन् । शुरूशुरूमा गाउँका बासिन्दामाझ जागरण गराउन केही असहज भए पनि पछिल्लो समय रसुवावासी रोगप्रति सजग भइसकेको बताउँदै जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भटृले थप सल्लाहसुझावका लागि दैनिक रूपमा गाउँपालिका अध्यक्षहरुसँंग समन्वय भइरहेको बताए ।

जिल्लाका जनप्रतिनिधिदेखि स्थानीय प्रशासन, सुरक्षा अंगसमेतका सबै क्षेत्रले रोग नियन्त्रणका लागि नियमित सहयोग पु¥यारहेको बताउँदै प्रमुख भटृले क्वारेन्टाइन र आइसोलेशन वार्डलगायतको व्यवस्थापन अत्यन्तै रामो भएको जिकिर गरे ।