अन्तर्राष्ट्रिय

कोरोना संक्रमीतलाई सेवा दिने क्रममा मृत्यु भएका परिवारलाई केजरीवालले एक करोड भारु दिने

एजेन्सी । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा बुधवार गरेका हुन् । “यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ,” उनले भने ।

कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिइने उनले बताए ।

मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारेका छन् । “मलाई थाहा छ तपाईहरूको सेवा अमुल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मान स्वरुप यो रकम उपलब्ध गराइने भएको हो,” उनलेभने ।

आफ्नो जीवननै जोखिममा पारेर सेवामा खटिनुभएका सवैप्रति जति सम्मान व्यक्त गरेपनि कमी हुने उनको भनाइ छ । मुख्यमन्त्री केजरीवालले पाचँवटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठक समेत गरेका थिए । उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पीपीई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६३७ पुगेको छ ।

तीमध्ये एक हजार ४६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी अन्य ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।