पर्यटन/संस्कृति

कोरोना कहरः आज चैते दशैं, पोहोर साल जस्तो छैन रौनक, कोरोनाबाट कसरी बच्ने भन्ने कै पीर

जाजरकोट । आज चैत्र १९ गते चैते दशैं, तर पोहोरसालको जस्तो केहि रौनक छैन । गाउँघरदेखी सहरका गल्लिहरु पुरै सुनसान छन् । चाडपर्वको रौनक भन्दापनि कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने चीन्ता सबैको मनमा छ ।

यस्तै कर्णाली क्षेत्रमा विशेष गरेर मनाइने चैतेदशैँको रौनक कोरोना भाइरसको जोखिमका कारण यस पटक सेलाएको छ । जाजरकोट, डोल्पा र कर्णाली प्रदेशका सबै जिल्लामा धुमधामका साथ मनाउने चैतेदशैँलाई परम्परालाई निरन्तरता दिने र नयाँ पिढीँलाई संस्कृति हस्तान्तरण गरी परिचित गराउने अवसरका रुपमा समेत लिइन्छ । चैतेदशै सबैभन्दा बढी उपल्लो डोल्पा, हुम्ला र मुगु जिल्लामा बनाउइन्छ ।

घोडा, खच्चड, भेडा, च्याङ्ग्रा र चौँरी ल्याएर जाजरकोटको नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा अस्थायी बसोबास गर्ने उपल्लो डोल्पाका स्थानीयवासी चैतेदशैँ (भोटेदशैँ) यी ठाउँमा बनाउने गर्दथे । चिसो छल्दै चैतेदशैँ मनाएर जाजरकोट र रुकुमबाट पशुचौपायामा खाद्यान्न ढुवानी गरी उपल्लो डोल्पा जाने चलन छ । अहिले यातायातको पहुँच विस्तारसँगै उपल्लो डोल्पाका स्थानीयवासी माथिल्लो जाजरकोट र तल्लो डोल्पामा बसोबास केन्द्रित गरी सोही ठाउँमा अस्थायी बसोबास गर्दै आएका छन् ।

मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा रहेको चैतेदशैँ यो पटक लकडाउनका कारण परम्परा त्याग्न बाध्य हुनुपरेको शे–फोक्सुण्डो गाउँपालिका–५ डोल्पाका टसी गुरुङले बताए । उनले भने, “चैतेदशैँ हाम्रा लागि खास दशैं हो, वडादशैं भन्दा हाम्रो लागि चैतेदशैँ ठूलो पर्व हो तर यो पटक लकडाउनका कारण हामीले तयारी नै गर्न पाएका छैनौँ ।”

नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने, “गाउँगाउँमा जनप्रतिनिधिदेखि प्रहरी र स्वास्थ्यकर्मी लकडाउनको पालन गरौँ भन्दै हिँडिरहेका छन्, हामी आफैलाई पनि कसरी ज्यान जोगाउने भन्ने चिन्ता छ, चैतेदशैँको त के कुरा भयो र ? ”कोरोना भाइरसको त्रासका कारण एक घरबाट अर्को घरमा जानका लागि अनुमति छैन, त्यसमा पनि डरका कारण आफैँ पनि जान मन लाग्दैन” डोल्पोबुद्ध गाउँपालिका–२ का साङची लामाले भने, “गाउँभरि हिउँले भरिएको छ, आफन्तहरु काठमाडौँबाट आउन पाउनु भएन, कसरी एक्लै चैतेदशैँ बनाउनु, दशा आए झैँ भएको छ ।”

बारेकोट गाउँपालिकाका–५ का जनकबहादुर शाहीले सो क्षेत्रका जनजाति समुदायका मानिस यो पर्वमा बढी रमाउने गरेको जनाउँदै जाजरकोट र रुकुम जिल्लामा यातायातको पहुँच नभएको समयमा भोट क्षेत्रका स्थानीयवासी तल्लो क्षेत्रमा झरेर चैतेदशैं मनाउने शाहीले जानकारी दिएका छन् ।

चैतेदशैँ मनाउने चाहना हुँदाहुँदै पनि लकडाउनका कारण बजार नखुल्दा र घर बाहिर जान नपाउँदा सामग्री खरिद गर्न नपाएको सर्वसाधारणको गुनासो छ । सामग्री खरिद गर्न नपाएछि कसरी चैतेदशैँ मनाउने वातावरण तयार हुन्छ ? भेरी नगरपालिका–३ का भीमबहादुर खत्रीले भने, “आयो दशैँ धुलो उडाई, गयो दशैँ ऋण बोकाई भन्ने उखान यसपटक गलत हुने भएको छ ।”

यो पटक कोठामा रेडियो सुन्दै र टिभी हेर्दै चैतेदशैंको स्वागत तथा बिदाइ हुन लागेको भीमबहादुरले बताउनुभयो । चैतेदशैँ आयो भन्दै आफन्त, इष्टमित्र गाउँगाउँमा रहेका आफ्ना घरमा आउँथे, यो पटक आफन्त आए पनि ढोका बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ, पञ्चभयार मावि नलगाड नगरपालिका–८ का शिक्षक वीरबहादुर खत्रीले भने ।

बलि पनि रोकियो

विगतदेखि कालिका माईलाई बलि दिने चलनले यो पटक पनि निरन्तरता नपाउने भएको छ । गाउँ–गाउँमा बोका तयारी गरी बलिका लागि तयार भएको खबर प्राप्त भएपछि सुरक्षाकर्मीको उपस्थिति रहने खबर पाएलगत्तै बलि रोकिएको हो । जाजरकोट नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा बलि बढी दिने गरिन्छ ।

कोरोना भाइरस जोगिनका लागि शक्ति प्रदान होस् भनी बलि दिन लागिएको भए पनि प्रहरीले रोक्ने खबर आएलगत्तै घरघरबाट अलग–अलग गएर ध्वाजा लगाएर आउने सोच बनाएको नलगाड नगरपालिका–८ का केशव खत्रीले जानकारी दिएका छन् ।