प्रदेश 1

विराटनगरले २२० शय्याको क्वारेन्टाइन बनाउने गर्यो निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि बैजनाथपुर स्वास्थ्य चौकीमा २० शय्याको क्वारेन्टाइन बनाएको छ ।

यसैगरी विराटनगर महानगरपालिकास्थित अतिथि सदनमा ४०, मारवाडी सेवा सदनमा २०, जैनभवनमा २०, काली सदनमा २० र संगम पार्टी प्यालेशमा २० शय्या क्षमताको क्वारेन्टाइन व्यवस्थापन गरेको छ भने नेशनल ट्रेडिङ्गमा सघन उपचार कक्षसहितको ५० शय्याको आइसोलेशन वार्ड निर्माण गरेको छ । कोरोना भाइरसको सम्भावित उच्च जोखिमलाई ध्यानमा राखेर महानगरपालिकाले नगर क्षेत्रमा २२० शय्याको क्वारेन्टाइन निर्माण गर्ने गृहकार्यमा जुटेको जनाएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख जिल्ला अधिकिारी मदन भुजेल, सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की र महानगरका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले सोमबार बैजनाथपुर स्वास्थ्य चौकीमा पुगेर चौकीको स्थलगत अनुगमन, निरीक्षण तथा त्यहाँ भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए ।

सो अवसरमा प्रमुख पराजुलीले देश व्यापी लकडाउनबाट नगर क्षेत्रमा अतिविपन्न, सुकुम्बासीहरुलाई पर्न सक्ने खाद्यान्न अभावलाई व्यवस्थापन गर्न महानगरपालिकाले विपद् राहत कोष बनाएको जानकारी दिए ।

उक्त कोषमा महानगरपालिकाले रु।एक करोड रकम जम्मा गरेको छ । सङ्कटका बेलामा सो राहत कोषमा रकम जम्मा गर्न अन्यदाता एवं समाजसेवीलाई प्रमुख पराजुलीले आग्रह गरे । उनले आफूले एक वर्षमा पाउने सुविधा रकम पनि सोही कोषमा जम्मा गर्ने घोषणा पनि गरे ।

यसैगरी भारतबाट नेपाल भित्रिएका र लकडाउनमा फसेका ४२ जनालाई महानगपालिकाले खाने र बस्ने व्यवस्था गरेको छ ।