पु.समाचार

‘पिपिई’ लगायतका स्वास्थ्य सामाग्री नहुँदा घाट सेवा असहज

काठमाडौं । पशुपति घाट सेवाका कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षामा आवश्यक पर्ने ‘पिपिई’ लगायत सामग्री नहुँदा काममा असहजता आएको छ ।

सुरक्षाका लागि घाट सेवाका कर्मचारीलाई धोती फेर्नुपर्ने र जुत्ता फुकाल्नुपर्ने नियमलाई आपत्कालका लागि सहुलियत दिई काम लगाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।

“‘पिपिई’ बजारमा किन्न खोज्दा पाइएन, सरकारले उपलब्ध गराउन गरेको प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेको छैन, केही दिनमा ‘पिपिई’ दिने प्रतिबद्धता सरकारले जनाएको छ, त्यतिञ्जेललाई कपडा र जुत्ता लगाएर शव जलाउन सकिने व्यवस्था गरेका छौँ”, उनले भने ।

पासकै कारण भने घाट र मन्दिर सेवाको काम भने प्रभावित नभएको कोषले जनाएको छ । सुरक्षामा खटिएका प्रहरीले पास नभए पनि घाट र मन्दिर सेवाका कर्मचारीलाई रोकेको छैन ।

घाटमा सुरक्षा सामग्री नहुँदा भने कसैले काम गर्ने र कसैले नगर्ने गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । घाट सेवाका कर्मचारीले मृतक सबै कोरोनाकै बिरामी हुन् कि भन्ने शङ्काले शव जलाउन नमानेका हुन् । कर्मचारीका परिवारले पनि रोग फैलन सक्ने भएकाले काम नगर्न भन्दै दबाब दिएको कोषले जनाएको छ ।

कर्मचारीले काम नगरेपछि मृतकका परिवार र आफन्तले नै शव जलाउन थालेको सदस्य सचिव ढकालले सुनाउनुभयो । पशुपति मन्दिरभित्र नित्य पूजा, रुद्राभिषेकजस्ता कर्म भने पूर्ववत् नै चलिरहेको जनाइएको छ ।