बाग्मती

डा अधिकारी भन्छन्ः२४ सै घण्टा अस्पताल खुल्छ, मुटुरोगी उपचारका लागि आउन/फोनबाट बुझ्न सक्नुहुन्छ

काठमाडौं । कोभिड–१९ का जोखिममा रहेका मुटुरोगीको उपचारका लागि शहीद गङ्गालाल हृदयरोग केन्द्रले नियमित रुपमा सेवा दिइरहेको छ । अस्पतालमा नियमित जाँचका लागि बहिरङ्ग विभाग नखुले पनि अरु सेवा नियमित रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा अहिले जति पनि मुटुका रोगी आउँछन्, तिनको चौबीसै घण्टा उपचार भइरहेको अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । सरकारले ‘लकडाउन’ घोषणा गरे पनि अस्पतालमा मुटुको शल्यक्रिया चौबीसै घण्टा भइरहेको र हृदयाघातलगायतका समस्या लिएर बिरामी जुनसुकै समयमा आउँदा पनि उपचार भइरहेको उनले बताए ।

सरकारले काठमाडौँ उपत्यकाका अरु कतिपय अस्पताललाई कोभिड–१९ को उपचारका लागि ‘हब’ अस्पतालका रुपमा तोकेको भए पनि यसलाई भने नियमित दिइरहेको सेवा नरोक्न भनेको छ । उनले भने, “हामीले यहाँ कार्यरत चिकित्सक, नर्स र व्यवस्थापनलाई त्यहीअनुसार तार गरेर नियमित गरिरहेका छौँ ।”

अस्पतालमा ‘लकडाउन’ यता दैनिक झन्डै २० जना बिरामी ‘आकस्मिक कक्ष’ मा उपचारका लागि आइरहेको प्रशासनले जनाएको छ । सामान्य अवस्थामा यो सङ्ख्या दैनिक ६०/७० जनासम्म रहेको थियो । अस्पतालमा हालसम्म कोभिड–१९ सङ्क्रमित कुनै पनि बिरामी आएका छैनन् । भविष्यमा यस्ता बिरामी आउनसक्ने भएकाले आवश्यक सावधानी अपनाइएको निर्देशक डा अधिकारीले बताए ।

चिकित्सक र नर्सले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर उपचार गरिरहेको उनले बताए । कुनै पनि बिरामीलाई अस्पताल छिर्नासाथ कोभिड–१९ को शङ्का लागेमा छुट्टै राखेर उपचार गर्नका लागि ‘क्वारेन्टाइन’ को व्यवस्था मिलाइएको छ । उनले भने, “सङ्क्रमण हो भने टेकु पठाइन्छ भने होइन भन्ने भएपछि यहीँ थप उपचार गरिन्छ ।”

हालसम्म अस्पतालमा कोभिड–१८ सङ्क्रमित बिरामी नआएकाले भएका स्वास्थ्य सुरक्षा सामग्री अपुग भएको छैन । भविष्यमा बिरामी आउन थाल्दा स्वास्थ्यकर्मीका लागि थप सुरक्षा सामग्री आवश्यक हुने उनले बताए । अस्पतालसँग विगतमा विभिन्न दाताले दिएको सामग्री रहेकामा अहिले त्यही प्रयोग गरिरहेको छ । उनले भने, “अहिले यी सामग्री हामीले किन्न पनि नपाउने हुँदा सरकारले नै उपलब्ध गराउनुपर्छ ।”

अस्पताललाई आवश्यक मेडिकल सामग्रीको पनि तत्काल अभाव नभएको निर्देशक अधिकारीले बताए । अस्पतालले ठेक्का सम्झौताबाट एक वर्षका लागि चाहिने जति अधिकांश सामग्री खरिद गर्ने भएकाले धेरैथरि सामग्री तत्काल अभाव नहुने देखिएको हो । कतिपय सामग्रीको भने अवधि कम हुनाले थोरै खरिद गरिएको छ । ती सामग्री भने आवश्यकतानुसार फेरि किन्नुपर्ने अस्पतालले जनाएको छ ।

बिरामीले औषधि किन्नका लागि पनि तत्काल अभाव नरहेको उनले बताए । औषधि व्यवस्था विभागले अझै केही महिनाका लागि औषधि रहेको भनिरहेको छ । मुटुरोगका नियमित औषधि सेवन गरिरहेका बिरामीलाई आफूले हाल मुटुरोग विशेषज्ञको सल्लाहअनुसार खाइरहेको औषधि नै नियमित गर्न निर्देशक डा अधिकारीले सल्लाह दिए ।

कोभिड–१९ को सङ्क्रमण सबैमा हुनसक्ने भए पनि यसले मुटुरोगीलाई बढी जोखिम भएकाले घरमै बस्ने र नियमित औषधि खानुपर्ने उनले बताए । बिरामीलाई कुनै स्वास्थ्य समस्या आउँदा अस्पतालले घरबाटै बझ्नका लागि मोबाइल नम्बर ९८५१२३०६८२ उपलब्ध गराएको छ । उनले भने, “यो फोनमा ड्युटीमा रहनु हुने मुटुरोग विशेषज्ञले उठाउने हुँदा जुनसुकै समयमा फोन गर्न सक्नुहुन्छ ।”

कोभिड–१९ का बिरामीले सङ्क्रमणबाट अरुले अपनाएका सावधानीका उपाय अपनाउनुपर्ने उनले बताए । नियमित साबुनपानीले हात धुनेलगायतका सफाइमा ध्यान पु¥याउनुपर्छ । क्वारेन्टाइनमा बसेर नियमित रुपमा खाँदै आएको औषधि क्रमशः खानुपर्छ । आफूलाई कुनै समस्या पर्दा हटलाइनमा फोन गरेर सुझाव लिनुपर्ने उनको सुझाव छ । अस्पतालमा नै जानुपर्दा पनि सकेसम्म आफ्नो क्षेत्रमा नजिक रहेका अस्पताल जान सकिन्छ । उनले भने, “यहाँ नजिक घर भएका बिरामी र आकस्मिक रुपमा कुनै समस्या पर्दा यहाँ आउन सक्नुहुन्छ ।”