साहित्य

तिम्रो स्वास्थ्यलाभको कामना गर्छु

-डा. कर्णाखर खतिवडा                                                                                      -रचना

प्रिय साथी !
मलाई थाहा छ
तिमी मसँग पक्कै रिसाएका छौ
निकै नै चित्त दुखाएका छौ
सङ्कटको यो घडीमा
मैले तिम्रो चासो गरिनँ
धेरै दिनदेखि तिम्रा नजरमै परिनँ
फुर्सद भएर पनि भेट्न आइनँ
सन्चो बिसन्चो सोध्दै सोधिनँ

तर साथी!
तिमीलाई थाहा छ?
म त तिमीलाई
आफैँलाई भन्दा बढी माया गर्छु
र त तिमीलाई नभेटेरै
तिम्रो स्वास्थ्यलाभको कामना गर्छु
कसैले भनेको सुनेको थिएँ
नलेखेको कविता राम्रो
अहिले म भन्छु
भेट्न नआउने साथी नै राम्रो
म तिमीकहाँ नआएको
किन थाहा छ?
मबाट तिमीलाई खतरा नहोस् भनेर
मबाट तिमी, तिम्रा छोराछोरी र बाआमामा
सङ्क्रमण नसरोस् भनेर

हेर न,
अस्तिसम्म कोरोनाबारे राम्रो बुझेकै रहेनछु
बाहिरफेर घुम्दा फिर्दा पटक्कै सतर्क भइनछु
अहिले बुझ्दै गएँ
संसार हेर्दै गएँ
अनि पो झसङ्ग भएँ
अब आफैँप्रति शङ्का लाग्न थाल्यो
तत्काल असर नदेखिने यो महामारीले
कतै भित्रभित्रै मलाई नै समातेको त छैन?
दुई हप्तासम्म त केही भन्नै सकिँदैन रे
सङ्क्रमण भइसक्दा पनि लक्षण देखिँदैन रे
यो कुरा बुझेर अहिले सतर्क भएको छु
सबैबाट अलग्गिएर अरूलाई बचाउने
सङ्कल्प लिएको छु

तिम्रो के कुरा,
मैले त आमाले ‘घर आइज’ भनेको पनि मानिनँ
बुबाले ‘आइहाल्’ भनी गरेको आदेशको पनि पालना गरिनँ
आमा त रुनु भो, घुर्क्याउनु भो
मैले टेर्दै टेरिन
किन थाहा छ,
मलाई शङ्का लाग्यो,
कतै ममा पहिल्यै भाइरस सरिसकेको रहेछ भने !
घर जाँदा जाँदै बाटैमा सर्‍यो भने !
मेरै कारणले मेरा प्रियजनसम्म पुग्यो भने ?
मबाटै यो घातक भाइरस फैलियो भने ?
मेरै कारणले कोही थला पर्यो भने?
अहँ,
म कल्पना पनि गर्न सक्दिन यस्तो कुरा
त्यसैले त,
म अहिले एक्लिएको छु
सबैबाट टाढिएको छु
यो एकान्तबासलाई नै
देश सेवा गर्ने उत्कृष्ट अवसरका रूपमा लिएको छु
सबैबाट अलग्गै बसेर सम्पूर्ण देशवासीहरूको
सुदीर्घ जीवनको कामना गरेको छु !
मलाई विश्वास छ,
यति पढेपछि तिमीले पनि मेरो कुरा बुझ्ने छौ
यही कुरा सुनाएर आफन्तहरूबाट अलग्गिएकामा
स्याबासी पाउने छौ।
उही तिम्रो हितचिन्तक

कीर्तिपुर, काठमाडौँ।
२०७६/१२/१४