साहित्य

बैनीको अन्तिम विदाइ

– डा भागवत आचार्य                                                               -कविता

 

माफ गर मारिया !
तिमीलाई यहीँ छोडेर जाँदैछु म,
सदाका लागि टाढा हुँदैछु म ।

तिम्रो चिहाँको आवाजदेखि
मेरो जीवनमा उज्यालो छाइरहेकी तिमी
बाँचुन्जेल मायाको सागर खन्याइरह्यौ ममा
त्यै मायाको शीतल छायामा बाँच्यौँ हामी
मेरो कला उन्नतिमा रमायौ तिमी
र परस्पर खुसीमा नाच्यौँ हामी ।

माफ गर बैनी !
मेरो दीर्घायुको कामना गरी
शप्तरङ्गी टीका लगाइदिने तिम्रा कोमल हात
अन्तिम पटक चुम्न सकिन मैले
मेरो सुस्वास्थ्यको कामना गरी
कहिल्यै नओइलाउने
मखमलीमाला लगाइदिने तिमीलाई
दाजुको रूपमा सुम्सुम्याउन सकिन मैले
मेरो खुसीको लागि तिमीले बालेको
धुपको सुगन्ध हराएको छैन अहिलेसम्म
माफ गर बुनु !!
किंकर्तव्यविमूढ एक्लो लुग्लुग छु म
धर्तीसमेत थर्थर छन् अहिले
कसरी विदाइ गरूँ म तिमीलाई !

थाहा छैन मलाई
धर्ती नै उज्यालो बनाउने तिम्रो कोमल शरीर
सद्गत गर्दा कसरी खान्थ्यो अँगोले
दुनिया लठ्याउने तिम्रो मुस्कान खरानी पारी
कसरी मिलाउथ्यो आफूमा माटोले
तिम्रो अवसानमा अहिले
आँसु झार्न पनि आउन सक्तैन कोही
माफ गर मारिया !
जीवनभर म हासेको हेर्न चाहने
तिम्रो निधार चुम्न सकिन मैले
चिरशान्तिको दीप जलाई
पार्थिव देहमा घुम्न सकिन मैले ।

धर्तीको पनि त जीवन छ भन्दै
प्रकृतिको पनि कानुन छ भन्दै
अभियन्ताको रूपमा
धर्तीको महिमा गाइरहने तिम्रो अभियान
कहिल्यै मनन गरेन मानवले
प्रकृतिको स्वाभाविक गति स्विकार्नु नै त जिन्दगी हो
पूर्वीय सभ्यताका पिता व्यास त बोलेकै थिए-
ॐ खं ब्रह्मः…..
द्यौ शान्ति, रन्तरिक्ष गुं शान्ति…वनस्पतय शान्ति…
तर कहिल्यै मनन गरिन मैले
र त प्रकृतिलाई नाश गरेर
आफूमात्रै बाँच्न खोजेको परिणाम भोग्दैछु म
फलतस् तिम्रो अन्तिम विदाइमा पनि
एक अञ्जुली श्रद्धा र एक मुठी माया
पोख्न सकिन मैले
र पोख्न सक्तैन कोही पनि ।

त्यसैले अब चिन्ता नगर बैनी !
शरीर हैन तिमी चेतन आत्मा हौ
जहाँबाट आएथ्यौ,
त्यहीँ जाऊ र शान्त जीवनधारा बिताऊ
मेरो भनिएको महललाई तिम्रो चिहान बनाउँदै
टाढैबाट आँसु अर्पेर तिमीबाट टाढा जाँदैछु म
तिम्रो चन्द्रझैँ मुस्कुराइरहेको मुहार
जीवन्त बनोस् युग युगसम्म
किनकि एक मुठी माया प्रकृतिमा खन्याउनु छ मैले
अब, धर्ति बचाउने तिम्रो गीत गाउनु छ मैले
त्यही गीतले धर्ती र मानवजीवन बचाउनु छ मैले ।।

भवतु सब्ब मंगलम् !!

 

(नोटः रचनाकारले इटालियन नायककी बैनीको कोरोनाका कारण मृत्युपछि रचेको कविता हो, यसमा रचनाकारले सुधार्ने ठाउँ खोजिदिनु भए कृतज्ञ हुनेछु भनेका छन्।)