प्रदेश 1

कोरोनाबाट बच्न र बचाउन सजग, सतर्क रहनुस्ः मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका नागरिकले यसबाट बच्न र बचाउन सजग एवं सतर्क रहनुपर्ने बताएका छन् । सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी, व्यवस्थित एवं चुस्त र दुरुस्त बनाउन सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयको परिसरमा आज आयोजित छलफलमा उनले कोरोनाको रोकथाम, नियन्त्रण एवं उपचारमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।

मुख्यमन्त्री राईले यस भाइरसको महामारी विश्वव्यापीरूपमा फैलिरहेको अवस्थामा यसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश सरकारले २३ बुँदे कार्य योजना बनाएर अघि बढिरहेको र यही कार्य योजनाको आधारमा प्रदेशमा क्वारेन्टाइन, आइसोलेसन निर्माण भएको जानकारी दिए । उनले प्रदेशमा दुई हजार श्ययाको क्वारेन्टाइन निर्माण भएको र प्रदेश सरकारले ५० श्ययाको आइसोलेसन पनि द्रुत गतिमा निर्माण गरिरहेको जानकारी दिए ।

लकडाउनको समयमा मर्कामा परेका गरीब एवं विपन्न परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले रु १० करोडको कोष स्थापना गरेको र यसमा रकम वृद्धि भइरहेको जानकारी दिए । उनले कारोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षामा खटिने प्रहरीलाई प्रोत्साहन भत्ता वितरण हुने बताउँदै मुख्यमन्त्रीको कार्यालयमा कोरोना डेस्क राखिने र यसबाट प्रवाह हुने सूचना र जानकारीमा एकरुपता ल्याउने तयारी भइरहेको बताए । उनले प्रोत्साहन भत्ताका लागिका प्रदेश सरकारले रु एक करोड ६८ लाख बजेट निकास गरिसकेको छ भने ।

सङ्घीय सरकारले पठाएको कोरोना उपचारमा आवश्यक पर्ने एक हजार थान पिपिइ (व्यक्ति सुरक्षा कवच) आजै प्राप्त भएको भन्दै मुख्यमन्त्री राईले जानकारी दिए । यस्तो विषम समयमा कालोबजारी गर्ने सोच महापराधी सोच हो भन्दै मुख्यमन्त्री राईले प्रदेशमा उपभोग्य सामग्रीको अभाव हुन नदिन विभिन्न समिति बनाएको जानकारी दिए ।

मुख्यमन्त्री राईले जीवन विकास समाजबाट पाँच हजार परिवारलाई रु ५० लाख बराबरको राहत सामग्री प्राप्त भएको जानकारी दिए । सो अवसरमा सिटिजन बैंक प्रदेश कार्यालयका प्रमुख प्रदीप सेढाइँले रु सात लाखको चेक कोषमा जम्मा गरिदिन मुख्यमन्त्री राईलाई हस्तान्तरण गरे ।