पु.समाचार

खाणले गरे उपप्रम पोख्रेलसँग कुराकानीः अत्यावश्यक खाद्य सामाग्रीको व्यवस्था मिलाउन आग्रह

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक सामग्री चीनबाट नेपाल ल्याएकामा सरकारलाई धन्यवाद दिएका छन् । साथै उनले उक्त सामग्रीको गुणस्तरमा ध्यान दिँदै तत्काल सातै प्रदेश र प्रदेशबाट सबै जिल्ला तथा स्वास्थ्य केन्द्रसम्म पु¥याउन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई टेलिफोनमार्फत आग्रह गरेको काँग्रेस संसदीय दलले जनाएको छ ।

प्रमुख सचेतक खाणले थप उपकरण र स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाइ स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन र लकडाउनको समयमा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने प्रक्रिया सहज बनाइ उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनले सुरक्षाको प्रबन्ध चुस्तदुरुस्त बनाएकामा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीलाई समेत धन्यवाद दिँदै आगामी दिनमा थप सजग भई सर्वसाधारणलाई औषधि र अत्यावश्यक खाद्य सामाग्रीको व्यवस्थापन मिलाउनसमेत आग्रह गरे । प्रमुख सचेतक खाणले सातै प्रदेशका काँग्रेसका संसदीय दलका नेता र प्रमुख सचेतकलाई पनि टेलिफोन गरी प्रदेशको अवस्थाका बारेमा जानकारी लिनुभएको संसदीय दलको कार्यालयले जनाएको छ ।