कृषि

लकडाउनः बिराटनगरमा चोकचोकमा तरकारी

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन चोकचोकमा रिक्सा र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको छ ।
सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम गरी उपभोक्तालाई तरकारी वितरण गर्न शुरु गरिएको हो । सो भाइरसको जोखिम हुन नदिन स्थानीय प्रशासन र विराटनगर महानगरपालिकाद्वारा यहाँको गुद्री तरकारी बजार बन्द गराइएको थियो ।
सो तरकारी वजार व्यवस्थापन समितिका सचिव सावद अहमत गुड्डुले उपभोक्ताको दुरी कायम गरी तरकारी बिक्री वितरण गर्न विराटनगर–११ मा तरकारी बजार राख्न माग गर्दै लकडाउनको समयमा हरियो सागसब्जी एवम् तरकारीको अभाव हुन नदिने जानकारी दिए ।
गुद्री बजारका थोक तरकारी व्यापारी पशुपति भगतले लकडाउनमा तरकारीको अभाव हुन नदिने र उपभोक्तालाई सुलभ रुपमा वितरण गरिने बताए । उनले फलफूल लगायत आलु ,प्याज लगायत मौज्दात रहेको जानकारी दिँदै अगामी आइतबारदेखि थप सामाग्री भारतबाट ल्याउने तयारी रहेको छ भने ।
स्थानीय प्रशासन र भन्सारको सहयोगका कारण तरकारी आयातमा सहज हुन पुगेको व्यवसायी भगतले बताए । थोक विक्रेताका सहयोगी भगवान रायले हाल विराटनगरमा सुनसरीको हरिनगरा,देवानगञ्ज, मोरङको जहदा, कटहरी गाउँपालिकाबाट हरियो तरकारी आपूर्ति भइरहेको र आलु प्याजको केहीदिनका पुग्ने मौज्दात रहेको जानकारी दिएयो ।
गुद्री बजार बन्द भए पनि चोक÷ चोकमा ढाकी, सटर र खुल्ला रुपमा तरकारीको सहज उपलव्धता भइरहेको छ । नगरका वसपार्क, सरौचिया, भट्टीभोड, हस्पिटल मोड, शान्तिचौक, पिछरा, रामपुर लगायतका क्षेत्रमा क्षेत्रमा दुरी कायम गरीहरियो तरकारी विक्री वितरण भइरहेको छ ।
अहिले बजारमा आलु प्रतिकेजी रु. ६०, प्याज प्रतिकेजी रु ७०,टमाटर प्रतिकेजी रु ५०, हरियो मटरकोशा प्रतिकेजी रु ६०, हरिया गट्टा प्रतिकेजी रु ७०, पाकेको फर्सि रु ७०,फूलकोवी प्रतिकेजी रु ६०, बन्दाकोवी प्रतिकेजी रु ३० विक्री भइरहेको छ । हरियो खुर्सानी प्रति पाउ रु.५० रहेको पाइएको छ । बजारमा जहीत्यही पाउने खसीको मासु र माछा लकडाउनका कारण बन्द रहेको छ ।
धनकुटा लगायत देवानगञ्ज, हरिनगरा, कटहरी, जहजा, सुनवर्शी र भारतवाट तरकारीको आपूर्ति हुने गरेको छ ।