पु.समाचार

काठमाडौं महानगरमा प्रभावितलाई राहत कार्यक्रम वडाको नेतृत्वमा

काठमाडौं। काठमाडौँ महानगरपालिकाले (कोभिड — १९) संक्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितलाई राहत र सहयोगका कार्यक्रम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा मात्रै गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंँले आयोजना गरेको भाइरस संक्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना बिषयक छलफलमा प्रमुख शाक्यले शहरमा भएका कोही पनि भोकै नपरुन् भनेर वडामार्फत बेरोजगारको तथ्याङ्क छिटोभन्दा छिटो ल्याउन पनि निर्देशन दिए ।

शनिबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोनाको सन्त्रास कम गर्न जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, प्रदेश सभा तथा प्रदेशसभा सदस्यका बीचमा साझा कार्यक्रम आवश्यक पर्ने बताए ।

यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन कामपाले ३२ वटै वडालाई परिपत्र गरिसकेको छ । परिपत्रमा वडाबाट सम्पादन हुँदै आएको फहोरमैला व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट सञ्चालन गर्न आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रुपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यमा प्रहरीको समेत सहयोग लिई सहजीकरण गरिने उल्लेख छ ।

परिपत्रमा आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदूरी गर्ने तथा सडकमा बस्ने घरबारविहीनलाई लक्ष्य गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने, वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोवास गर्दै आएका श्रमिक कामदारको विवरण संकलन गरी कामपा प्रशासन विभागमा बुझाउने पनि उल्लेख छ । विदेश भ्रमण गरी गत फागुन १८ देखि हालसम्म वडामा बसोबास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न पनि भनिसकिएको छ ।