राजनीति

मुख्यमन्त्रीलाई धन्यबादसहित ‘लकडाउन’को पालना गर्न राजपाको अपिल

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न सरकारद्वारा घोषित ‘लकडाउन’को पालना गरी सुरक्षित र धैर्यताका साथ घरमै बस्न अपिल गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत्सिंह भण्डारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सबै नेपाली जनतालाई जिम्मेवारीपूर्वक धैर्यताका साथ लकडाउनमा घरमा बस्न अपिल गर्नुभएको हो । विज्ञप्तिमा सुरक्षितपूर्वक धैर्यताका साथ बसेकाप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसैगरी बस्ने विश्वास व्यक्त गरिएको छ ।

राजपाले आर्थिक रुपमा विपन्न, दलित, दैनिक ज्यालादारी गरी छाक टार्नेका लागि वडास्तरमै तिनीहरुको यकिन गरी अत्यावश्यक खाद्यान्न र राहतको व्यवस्था अविलम्ब गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । विदेशबाट आउनेबाट उक्त भाइरस सर्ने भएकाले खुला सीमानाका र विदेशबाट नेपाल आएका तथा आउने नेपालीको वडास्तरमै यकिन गरी क्वारेन्टाइनमा राख्न राजपाले अपिल गरेको छ ।
कोरोना भाइरसबाट जोगिन र क्वारेन्टाइनलाई अझै व्यवस्थित बनाउन वडास्तरमै सवै प्रकारका सेवा प्रवाह गर्ने वातावरण बनाउनुपर्ने आवश्यक देखिएकाले उक्त कार्यलाई सञ्चालन गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा उच्च स्तरिय सर्वदलीय संयन्त्र तत्काल बनाउनुपर्ने उल्लेख राजपाको माग छ । विज्ञप्तिमा संयन्त्रमा राजनीतिक दल, विशेषज्ञ स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकार महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, नागरिक समाज, सामाजिक संघसंस्था समेतलाई सहभागी गराउनुपर्ने उल्लेख गरेको छ ।

क्वारेन्टाइनमा र उपचारमा संलग्न स्वयंसेविका, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा गाडीलाई नियमित रुपमा स्यानिटाइज गरिनुपर्ने र त्यसकार्यका निम्ति सरकारले आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने माग राजपाले गरेको छ । प्रदेश न.२ को सरकारले निःशुल्क भोजनलगायतका अन्य प्रबन्ध गर्ने निर्णय गरेकामा धन्यवाद दिदै राजपाले निर्णयको प्रभावकारी कार्यान्वयनका निम्ति आग्रह गरेको छ ।