स्वास्थ्य

स्वास्थ्य सामग्री खरिदमा केही पत्रिकाले भ्रामक/कपोकल्पित समाचार प्रकाशन गरेः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिचान, परीक्षण, औषधि, प्रयोगशाला सामग्री र पिपीइलगायत सामान छिटोछरितो रुपमा खरिद गर्न लागिएको जनाएको छ । मन्त्रालयले सामान खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक/वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटकपटक बोलपत्र आह्वान गर्दा समेत कुनै पनि उत्पादक, वितरकबाट बोलपत्र पेश नभएकाले विभागले पुनः उत्पादकरतरकसँग सामूहिकरूपमा सार्वजनिक संवाद गरी छिटो छरितोरूपमा सामग्री ल्याउने गरी सम्झौता भई उक्त सामग्री नेपाल आउने क्रममा रहेको स्पष्ट पारेको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विज्ञप्ति जारी गरी सो विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकामा ध्यानाकर्षण भएको जनाउँदै विषम परिस्थितिमा प्रचलित कानूनको अधिनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र प्रचार गरिएकामा दुःख व्यक्त गरिएको छ ।

“दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीको मनोवल हतोत्साहित हुने र समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्री मात्र प्रचाररप्रसार गर्न अनुरोध छ ।” विज्ञप्तिमा भनिएको छ, “संसारभरि नै रोकथामका उपाय खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र संलग्न कर्मचारीको मनोवल उच्च बनाउन र आम जनतालाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन आग्रह गरिन्छ ।”