राजनीति

उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र बनाउन साझा पार्टीको माग

काठमाडौं । साझा पार्टीले कोभिड–१९ को सङ्क्रमणले निम्त्याएका र निम्ताउनसक्ने विभिन्न सङ्कटसँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र उच्चस्तरीय विज्ञसमितिको गठन गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखिएको सुझावपत्र आज पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा सूर्यराज आचार्यले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गर्नुभएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि वर्तमान अवस्थाको गम्भीरतालाई हेर्दा सरकारको नियमित र घनिभूत क्रियाशीलताका साथै राष्ट्रिय सहमति प्रतिबिम्वित् हुने राजनीतिक तहको ऐक्यबद्धतापूर्ण निर्णय जरूरी रहेको साझा पार्टीले जनाएको छ ।

“तसर्थ, सम्भव छ भने तपाईंकै नेतृत्वमा, त्यो सम्भव नभए, उपप्रधानमन्त्री पोखरलेको नेतृत्वमा प्रमुख दलका नेतासमेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको छ, यो संयन्त्रले राजनीतिक तहमा आएका विभिन्न विचार, राय र सुझावलाई समीक्षा र सम्प्रेषण गर्ने माध्यमको रुपमा पनि काम गर्नेछ, सङ्कटको यो घडीमा आज मानिसको राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्नसमेत यस्तो संयन्त्रले सघाउ पु¥याउने छ”, पार्टीका संयोजक मिश्रद्वारा लेखिएको सुझाव पत्रमा उल्लेख छ ।

यसैगरी वर्तमान सङ्कटको विविध क्षेत्रमा पर्ने तत्कालीन र दीर्घकालीन असरसँग जुध्न सरकारलाई निरन्तररूपमा आवश्यक विश्लेषण, सुझाव र समीक्षाका लागि एउटा उच्चस्तरीय विज्ञ समिति निर्माण गर्नसमेत साझा पार्टीले सुझाएको छ । उक्त समितिमा प्रशासन र स्वास्थसेवाका सम्बन्धित अधिकारीलगायत देशभित्र र बाहिर रहेका नेपाली् तथा आवश्यक परेको खण्डमा, विदेशी विज्ञलाई पनि सामेल गर्न सकिने सुझाव पत्रमा उल्लेख छ । हालकै संरचनाभित्रको घनिभूत प्रयासको निरन्तरताले मात्रै वर्तमान सङ्कटको सामना गर्न सहज नहुने र यो अभूतपूर्व मानवीय सङ्कटसँग जुध्न सरकारले आफ्नो कार्यशैलीमा अभूतपूर्व संरचनागत फेरबदल गर्नुपर्ने साझा पार्टीको धारणा छ ।