पु.समाचार

ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीलाई वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको ढकालले बताए । पहिलो चरणमा ३० लिटर उत्पादन गरिएको र आवश्यकतानुसार थप उत्पादन गरिने उनले बताए ।

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारद्वारा कोरोना रोकथामका लागि गरिएको लक डाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ ।