आर्थिक

जनप्रतिनिधिको एक महिनाको सुविधा कोरोना कोषमा

खोटाङ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिले आफ्नोे एक महिनाको पारिश्रमिक सरकारको कोरोना रोकथाम कोषमा जम्मा गर्ने भएका छन् ।

गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पाँच वटै वडाका वडाध्यक्षले गाउँपालिकामा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा आफूले पाउने सेवासुविधा जम्मा गर्ने भएका हुन् ।

गाउँपालिकाका २९ जना कार्यपालिका सदस्यको चैत महिनाको सेवासुविधा कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिएका छन् । “विपद् व्यवस्थापन गर्न सबैको एकता अपरिहार्य छ”, उनले भने, “गाउँपालिकामा कार्यरत निजामती कर्मचारी तथा शिक्षकलाई पनि पाँच÷पाँच दिनको सेवासुविधा कोषमा जम्मा गर्न आग्रह गरिएको छ ।”

साकेला गाउँपालिकामा शिक्षक सेवाअन्तर्गत २०० तथा निजामती कर्मचारीतर्फ ४० कार्यरत रहेको प्रशासन प्रमुख सुवास राईले जानकारी दिएका छन् । त्यसैगरी तावाताल निर्माणको लागि छुट्टिएको रु ७० लाख बजेटबाट २० प्रतिशत रकमसमेत रकमान्तर गरी सोही कोषमा राखिने भएको छ ।

आपतकालीन अवस्थामा खर्च गर्ने गरी उक्त कोषमा रकम रकमान्तर गरिने भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईले बताएका छन् ।

गाउँपालिकाको कार्यालयमा भएको बैठकमा गाउँपालिका प्रमुख खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई आगामी दिनमा अनिवार्यरूपमा कार्यालयमै तैनाथ रहन निर्देश नसमेत दिएका छन् ।