गण्डकी प्रदेश

मुस्ताङमा ६८ विदेशी पर्यटक अलपत्र

ठिनी । कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ पर्यटकलाई दुई दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तीन दिनको अवधिमा ती पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताएका छन् ।

अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, युक्रेन, न्यूजील्याण्डलगायतका मुलुकका पर्यटकलाई बसमार्फत पोखरा हुँदै काठमाडौं पठाइएको हो । मुस्ताङमा बाँकी रहेका अन्य पर्यटकको स्वास्थ जाँच भई मुस्ताङकै होटलमा राखिएको प्रजिअ अर्यालले जानकारी दिएका छन् ।

“कोरोनाको सतर्कतासँगै मुस्ताङ भित्रने सडकमा पूर्णरूपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटक यही नै अलपत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदूतावाससँगको समन्वयमा उनीहरुलाई उद्धार गरी पठाएका हौँ”, प्रजिअ अर्यालले भने ।

हाल बाँकी ६८ पर्यटकलाई अर्को सूचना नआउन्जेल मुस्ताङमै राखिने बताए । अलपत्र परेका पर्यटकलाई नेपाल सरकारले तत्काल उद्धार गरी आफ्नो गतव्यमा पुर्याउनुपर्ने सियु लज लेतेको प्रोपाइटर अमित तुलाचनले बताए । उक्त पर्यटकबीच बाटोमै अलपत्र परेको तुलाचनले बताएका छन् ।