प्रदेश 1

नक्कली बिरामी बोक्ने एम्बुलेन्स नियन्त्रणमा

भद्रपुर । नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाजकल्याण ट्रष्टको नाममा दर्ता छ । एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार बासिन्दालाई रु नौ हजार भाडामा लैजाँदै गर्दा प्रहरीले जाँचका क्रममा यात्रु बिरामी नभएको रहस्य खुलासा भएको थियो । एम्बुलेन्स र चालकलाई इप्रका झिलझिलेमा राखिएको छ । प्रहरीले जाँच गर्दा एक यात्रुले बिरामी भएको नाटक गर्दै हत्तपत्त स्ट्रेचरमा सुत्ने प्रयास गरेका थिए । एम्बुलेन्समा दुई बालबालिकासहित एकै परिवारका चार सदस्य थिए । यात्रुलाई प्रहरीले छाडिदिएको छ । भद्रपुरबाट विराटनगरसम्मको एम्बुलेन्स भाडा रु चार हजार तीन सय मात्र हो ।

बिर्तामोडका पसलमा पाँच फिटको सामाजिक दूरी
कोभिड–१९ को सङ्क्रमण फैलन नदिने उद्देश्यले लकडाउन गरिएका अवस्थामा खुला गरिएका खाद्यान्न, तरकारी र औषधि पसलमा आजदेखि सर्वसाधारणका लागि सामाजिक दूरी ९सोसियल डिस्टेन्स० कायम गरिएको छ ।

बिर्तामोडका २० पसलमा सामाजिक दूरी कायम राखेर रेखाङ्कन गरिएको गोलो घेरामा बसेर मात्र सर्वसाधारणले सामान खरीद गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

चेम्बर अफ कमर्श बिर्तामोडको अग्रसरतामा प्रहरीले व्यवसायीसँग समन्वय गरी दैनिक उपभोग्य वस्तु र औषधि पसलमा आउने ग्राहकको भीड कम गर्न पाँच फिटको दूरीमा सेतो घेरा लगाएको छ । प्रहरी उपरीक्षक कोइरालाले बिर्तामोडबाट शुरु गरिएको सामाजिक दूरी अभियानलाई झापाका १५ वटै स्थानीय तहमा लागू गरिने बताए ।

सामाजिक दूरी कायम हुने गरी बनाइएको घेरामा पालैपालो उभिएर सामान खरीद गर्दा पसलमा आउने ग्राहक र बिक्रेता दुवै पक्ष कोभिड—१९ को सङ्क्रमणको जोखिमबाट जोगिने विश्वास गरिएको छ ।