अन्तर्राष्ट्रिय

कोरोनाको संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

पेरिस, १३ चैत । कोरोनाभाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ ।

इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने बुधबार घोषणा गरेको हो । स्थानीय संचार माध्यम ली फिगारोले वरिष्ट सैनिक अधिकृतको भनाई उद्धृत गर्दै भनेको छ, “इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले इराकमा तैनाथ आफ्ना फौजको कार्यशैलीमा फेरबदल गर्न लागेको छ र इराकी फौजसँगका सबै तालिम कार्यक्रमहरु निलम्बन गर्ने निर्णय भएको छ ।”

फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ३३१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।