गण्डकी प्रदेश

ठप्प पोखराः लकडाउनको पालना बढ्दै

कास्की । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् ।

लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्डभित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाएसँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ । लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । “लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो”, रोकाले भने ।

उनका अनुसार अवज्ञा गर्ने अधिकांश सवारी साधनमा मोटरसाइकल र स्कुटर छन् । पोखरामा लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन सवारी साधनलाई नियन्त्रणमा लिनुपरेको बताउँदै उनले सडकमा पैदल निस्कने क्रम पनि दिनप्रतिदिन कम हुँदै गएको बताए । लकडाउन प्रभावकारी भइरहेको र प्रत्येक सर्वसाधारणलाई स्वास्थ्यप्रति बेलैमा सचेत बन्दै आगामी दिनमा समेत सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताएका छन् । लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उनको भनाइ छ ।

यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ । पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा सूचना तथा समाचार सङ्कलनका लागि आवाजजावत गर्न पाउने गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले आम मानिसमा डर तथा त्रास सिर्जना गर्ने, आतङ्कित तुल्याउने गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यममा भ्रामक सूचना प्रसारण गरेको भेटिएमा समेत कानूनबमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिएका छन् ।

सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्नका लागि सञ्चालित हेलो डक्टर कक्षमा बुधबार पनि ठाउँठाउँबाट २० जनाले सोधेर परामर्श लिएको उनले जानकारी दिएका छन् । “मङ्गलबार मात्रै १४ जनाले फोन गरेर परामर्श लिएका थिए”, उनले भने, “हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गर्ने गरिएको छ ।”आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसहित सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।