अन्तर्राष्ट्रिय

भारतमा कोरोना प्रकोपः मृत्युदर वढ्दै, १३ जनाको ज्यान गयो

काठमाडौं । चीनको बुहान सहरबाट फैलिएको प्राणघातक भाइरसका कारण भारतमा मृत्यृ हुनेहरुको संख्यामा बृद्धि भएको छ । भारतमा कोरोनाका कारण मृत्युहुनेहरुको संख्या आजसम्म १३ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए ।

त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् । बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ । भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ ।

अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।