राजनीति

कोरोना संक्रमण रोक्न युवालाई भत्ता दिएर सचेतना अभियानमा देशभर खटाऔंः गुरुराज घिमिरे

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गुरुराज घिमिरेले कोरोना भाईरस संक्रमणका बिषयमा सरकारलाई सात सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लकडाउनमा रहँदा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई सहज बनाउन माग गरेकाका छन् । नेता घिमिरेले सरकारले बेरोजगार युवाहरूलाई केहि भत्ता दिएर राष्ट्रब्यापी सचेतना अभियानमा परिचालन गर्दा राम्रो हुने विचार ब्यक्त गर्दै उपभोग्य बस्तु खरिद गर्न नसक्ने गरिब जनतालाई लकडाउन अवधिभरका लागि सरकारले निःशुल्क ब्यवथा गर्नुपर्ने बताएका छन् ।

उनका सात सुझावः
हामी यतिबेला बिश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको निर्मम चपेटामा छौ। मानव सभ्यता माथिका सर्वाधिक ठूला संकटहरू मध्येको एक भयानक सङकट हो यो।यसबाट पार पाउन निकै कठिन छ। तसर्थ लक डाउन गरेर मात्र पुग्दैन। यो शुरु भएको झण्डै तीन महिना पुग्न लागेको छ। यस बिचमा हामीले अपनाउनुपर्ने सावधानी पटक्कै नअपनाएर आफ्नो जीवनमाथि नैं खेलबाड गरिसक्यौं। अब त्यो गल्ती सुधार्न सक्दैनौं। तर अब पनि केही होसियारी अपनाउन सक्छौं। यसका लागि केही सुझाव दिन चाहन्छु।
१) लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने। र भाइरस बिरूद्ध आवश्यक स्वास्थ्य सामग्री र उपकरणको ब्यवस्था गर्ने।
२) लकडाउनमा रहँदा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई सहज बनाउने।
३) उपभोग्य बस्तु खरिद गर्न नसक्ने गरिब जनतालाई लकडाउन अवधिभरका लागि सरकारले निःशुल्क ब्यवथा गर्ने।
४) स्थानिय सरकारले हरेक वडाका टोलैपिच्छे भाइरस जाँचको व्यवस्था गर्ने।
५)सामान्य लक्षण देखिएका सबै नेपालीको स्वास्थ्य परिक्षण गर्ने।
६) वडा कार्यालयहरूले घर(घरमा पुगेर सचेतता अपनाउनका लागि जनतालाई सुझाव दिने। साबुन र सेनिटाइजर नभएका घर परिवारलाई सो उपलब्ध गराउने।
७) सरकारले बेरोजगार युवाहरूलाई केहि भत्ता दिएर राष्ट्रब्यापी सचेतना अभियानमा परिचालन गर्ने।
यति मात्र गर्न सके यस संकटबाट जोगिन सकिएला, नत्र घरभित्र बस्नुस भनेर मात्र राज्यको दायित्व पुरा हुदैन। दैनिक उपभोग्य वस्तुको अभाव भयो भने समाजमा शुरू हुने लुटपाट र आतंकलाई कसैले रोक्न सक्ने छैन।