पत्रपत्रिका

लकडाउनः पदयात्रामा गएका सयौँ विदेशी पर्यटकहरू अलपत्र

काठमाडौं । सरकारले ‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका सयौँ विदेशी पर्यटकहरू अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका हुन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अनुसार सगरमाथा खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लु क्षेत्रमा सयौँ पर्यटक रोकिएका छन् । खुम्बु क्षेत्रमा १ सय विदेशी पर्यटकहरू पदयात्रामा गएका थिए । उनीहरू आउन नसकेको टानले जनाएको छ । ‘खुम्बुलगायत क्षेत्रमा पर्यटक पदयात्रा गएका थिए,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘लकडाउनले सबै रोकिएका छन् ।’ सरकारलाई उद्धारको व्यवस्था मिलाउन आग्रह गरिए पनि हालसम्म उद्धार हुन नसकेको सुवेदीले जानकारी दिए ।

मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छन् । अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको अनुमान छ । त्यस्तै, हुम्ला र डोल्पामा पनि १५ देखि २५ जना पर्यटक रोकिएको हुन सक्ने टानको अनुमान छ । मनाङ, मुस्ताङ क्षेत्रमा पनि एक दर्जनभन्दा बढी पर्यटक अलपत्र परेका छन् । ‘खुम्बु क्षेत्रामा रेस्टुराँहरूसमेत बन्द हुन थालेकाले पर्यटकहरू झनै समस्या पर्न थालेका छन्,’ अध्यक्ष सुवेदीले भने ।

गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा बुधबार लुक्ला र डोल्पाबाट ८ जनाको उद्धार गरिएको छ । विमानस्थलका अनुसार दुई हेलिकोप्टरबाट डोल्पाबाट ४ जना जर्मनी पर्यटक र लुक्लाबाट ४ जना रुसी नागरिकको उद्धार गरिएको छ ।

‘कुन–कुन स्थानमा कति पर्यटक रोकिएका छन्, तथ्यांक संकलन गर्ने काम भइरहेको छ,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘उद्धार कार्यसमेत सुरु भइसकेको छ ।’

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेपछि विभिन्न क्षेत्रमा पदयात्रामा गएका ५ सयभन्दा बढी विदेशी अलपत्र परेका हुन्

कोरोना भाइरस परीक्षणका लागि राजधानीबाहिर नमुनाका रूपमा संकलन भएको ‘स्वाब’लाई नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेर काठमाडौं ल्याइने भएको छ । सरकारले निगमको ट्विनटर जहाज चार्टर गरेर विराटनगर र नेपालन्जमा संकलन भएको ‘स्वाब’ काठमाडौं ल्याउन लागिएको हो । स्वाब परीक्षण गर्न टेकु नै ल्याउनुपर्ने भएकाले सम्भवतः बिहीबार नै जहाज चार्टर गरिनेछ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूसँग समन्वय गरेर विराटनगर र नेपालगन्ज पठाउन आग्रह गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार यसका लागि नागरिक उड्डयन प्राधिकरण र निगमलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिसकिएको छ । ‘प्राधिकरणलाई बुधबार नै आग्रह गरिसकिएको छ,’ उनले भने, ‘जहाज चार्टर अवस्थामा तयार रहन निगमलाई पनि आग्रह गरिएको छ ।’

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि उच्चस्तरीय समितिमा छलफल भइसकेकाले जहाज चार्टर गर्न सबै व्यवस्था मिलाइएको जानकारी दिए । सातै प्रदेशमा सयौँ नमुना संकलन भएका छन् । तर, लकडाउनका कारण काठमाडौैं पठाउन नपाएको गुनासो आएकाले निगमको जहाजबाट ल्याइने निर्णय भइसकेको पोखरेलले बताए ।

यता निगमकी प्रवक्ता अर्चना खड्काले सरकारको निर्देशनमा आफूहरू पनि तयारी अवस्थामा रहेको जानकारी दिइन् । ‘ट्विनटर र एमए६० दुवै जहाज चार्टरका लागि तयारी अवस्थामा राखिएको छ,’ खड्काले भनिन् ।

नेपाली मूलका एक बेलायती चार दिनदेखि विमानस्थलमै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनदेखि नेपाली मूलका एक बेलायती नागरिक अलपत्र परेका छन् । ती नागरिक निगमको जहाजमार्फत शनिबार हङकङबाट आएका थिए । अध्यागमनले विदेशी राहदानी भएकाले प्रवेश अनुमतिमा रोक लगाएपछि उनी अलपत्र परेका हुन् ।

‘विदेशी नागरिता पासपोर्ट भएकालाई प्रवेशमा रोक लगाइएको हो,’ अध्यागमन विभागका विमानस्थल प्रमुख सागर आचार्यले भने । निगमले ल्याएकाले उसैले फिर्ता पठाउनुपर्ने दायित्व हुन्छ । तर, सबै उडान रोकिएकाले डिपोर्ट सम्भव नभएपछि निगमले नै खाने र बस्ने व्यवस्थासहित राखेको आचार्यले जानकारी दिए । बेलायतले आफ्ना नागरिकको उद्धार गरेर लैजान सक्ने वा उडान नखुलेसम्म अफिसमै रहने आचार्यको भनाइ छ ।

 

                                                                                                               नयाँ पत्रिकाबट लिएको