प्रदेश 1

लकडाउन अवधिमा आपराधिक घटना हुनेतर्फ सचेत रहन आग्रह

खोटाङ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनका अवधिमा आपराधिक क्रियाकलाप हुने सम्भावनातर्फ सचेत रहन जिल्लावासीलाई आग्रह गरेको छ । समितिको आज बसेको बैठकले लकडाउनका अवधिमा विभिन्न आपराधिक घटना हुन सक्ने सम्भावनातर्फ सचेत रहन सर्वसाधारण एवम् सुरक्षा निकायलाई आग्रह गरेको हो ।

सङकटको सामना गर्नेतर्फ सबैको ध्यान केन्द्रित भएको अवस्थामा आपराधिक घटना हुने वा गराउन सक्ने सम्भावना पनि भएकाले सचेत रहन र सावधानी अपनाउन भनिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् संयोजक बबि चाम्लिङले बताए । लकडाउनको अवधिमा सुरक्षा निकाय थप सतर्क रहनुपर्ने बैठकको निष्कर्ष छ ।

बैठकले सबै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेर कोरोना रोकथाम तथा नियन्त्रणका आवश्यक गतिविधिमा खर्च गर्न तथा हरेक स्थानीय तहलाई कम्तीमा ४० शय्याको क्वारेन्टाइन बनाउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिई, मास्क, पञ्जालगायत सामग्री व्यवस्थापन गर्नका लागि आवश्यक रकम जुटाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश नं १ का मुख्यमन्त्रीसमक्ष माग गर्ने निर्णयसमेत गरिएको संयोजक चाम्लिङले बताए ।

जिल्लाका दशै स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरिए पनि स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिई, मास्क, पञ्जालगायत सामग्री अभाव रहेको पाइएको छ । आवश्यक सुरक्षा सामग्री तथा उपकरण अभावमा जिल्लाका विभिन्न ठाउँमा स्थापना गरेर सञ्चालन गरिएका स्वास्थ्य सहायता कक्षमा खटिएका स्वास्थ्यकर्मी जोखिम मोलेर काम गरिरहेका छन् ।