बाग्मती

उच्च ज्वरो आएपछि फेरि एक जना कोरोनाको आशंकामा राखियो आइसोलेशनमा

सिन्धुली । आज थप एक जनालाई आइसोलेशनमा भर्ना गरिएको छ । कमलामाई नगरपालिका १२ का एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा भर्ना गरिएको हो । सिन्धुली अस्पतालका डा प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि आज अस्पतालमा आएका थिए । उनमा १०४ डिग्री ज्वरो, खोकीलगायत लक्षण रहेकाले आइसोलेशनमा राखेर उपचार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार ती बिरामीका छोरा १४ दिनअघि दुबईबाट नेपाल आएका थिए । उनी परिवारको सम्पर्कमा आएको चार दिनपछि पिता बिरामी परेका हुन् । उनलाई कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कामा आइसोलेशनमा राखी उपचार गरिएको र उनको स्वाब परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भएको डा राजभण्डारीले बताए । उनको परिवारलाई सम्पर्क गर्ने कोशिश भइरहेको र फेला परेपछि सेफ क्वारेन्टाइनमा राखेर निगरानी गरिने छ ।

अस्पतालले मङ्गलबार कमलामाई २ का एक १९ वर्षीय युवकलाई आइसोलेशनमा राखेर उपचार शुरु गरेको थियो । भारतमा नै ज्वरो आएको अवस्थामा उनी घर आएका थिए ।

३९ शय्याको क्वारेन्टाइन सञ्चालनमा
सिन्धुलीमा आजदेखि ३९ शय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिको बैठकपछि क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, जनस्वास्थ्य कार्यलयका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका सभापति, सिन्धुली अस्पताल विकासका अध्यक्ष, नेपाली सेना वर्दबहादुर गणका गणपतिलगायतको उपस्थितिमा कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउन केही निर्णयसमेत गरिएको छ ।

कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार नगरपालिका ६ स्थित साविक भूतथा जलाधार कार्यालय र साविक जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको भवनमा तयार पारी सञ्चालन भएको क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन र आवश्यक व्यवस्थापन गर्नका लागि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा सहायक प्रमुख जिल्ला अधिकारी संयोजक तथा वर्दबहादुर गण, जिल्ला प्रहरी कार्यालय, सिन्धुली अस्पताल, रेडक्रस सिन्धुली, वडा नं ६ का वडाध्यक्ष, कमलामाईका स्वास्थ्य प्रतिनिधि, स्वास्थ्य कार्यालय, राष्ट्रिय अनुसन्धान सिन्धुली र सशस्त्र प्रहरी बल सिन्धुलीका एकएक सदस्य रहने निर्णय गरिएको छ ।

समितिले विदेश, छिमेकी देश वा अन्य जिल्लावाट भ्रमण गरी हालसाल मात्रै घरमा फर्किएका साथै सो स्थानमा भम्रण गर्ने नवआगन्तुकको नाम, थर, ठेगाना र सम्पर्क नंसहितको विवरण सङ्कलन गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्था, सुरक्षा निकाय र जनप्रतिनिधिले त्यस्ता व्यक्तिको स्वास्थ्य स्थिति अनुगमन गर्ने, फोन सम्पर्क र आवश्यक परामर्शलगायत व्यवस्थापन गर्ने, विवरण सङ्कलन र स्वास्थ्यसम्बन्धी परामर्श गर्नका लागि स्थानीय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने छन् ।

अन्य स्थानबाट आएपछि १४ दिनसम्म अरु मानिससंँग सम्पर्क नहुने गरी दुई कोठामा सुरक्षित साथ बस्न लगाउने, ज्वरो आउने, श्वासप्रश्वाससम्बन्धी समस्या भई आएका बिरामीको दैनिक रुपमा नियमित जिल्लास्तरीय संयन्त्रमा विवरण पठाउने, समितिले आवश्यकतानुसार जिल्लास्तरीय क्वारेन्टाइनमा वा स्वास्थ्य समस्या भएमा समन्वय गरी अस्पताल वा क्वारेन्टाइनमा पठाउनेसमेत निर्णय भएको छ । हाल बनाइएका क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार रहेको र कोभिड १९ को शङ्का लागेको स्थानबाट आएका नागरिकलाई उक्त स्थानमा राखिने नगरपालिकाका प्रमुख खत्रीले जानकारी दिए ।