पु.समाचार

लकडाउन अवज्ञा गर्ने १६ जनासहित ७८ यातायात साधन प्रहरी नियन्त्रणमा

हेटाँडा, १२ चैत । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ यातायात साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसार नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरी अनावश्यक रूपमा सडकमा हिँडनेलाई नियन्त्रणमा लिइएको हो ।

लकडाउन उल्लङ्घन गरेर हिँड्ने १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार घर बाहिर सडकमा निस्कनेलाई प्रहरीले तीन मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ ।

अनुगमन र निगरानी गर्न जनप्रतिनिधीलाई खुलालको आग्रह

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गरे । लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उनले आग्रह गरे ।

कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि वडाध्यक्ष, सदस्यलगायत टोल विकास संस्थालाई आ–आफ्नो स्थानीय तहका वडाका घर/घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलालले अग्रह गरेको उनका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए ।

हेटौँडा बजार सुनसान

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो दिन पनि सुनसान भएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । किनमेलका लागि खासगरी साँझ बिहानपख पसल खुल्ने र ग्राहकको भीड लागेको देखिन्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षका लागि खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेतसमेत गराइएको छ । उता कोरोना भाइरसको प्रकोपबाट सचेत रहन स्थानीय प्रशासन र हेटौँडा उपमाहानगरपालिकाले माइकिङ गरेका छन् ।

साथै स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष तथा अस्पतालमा उपचारका लागि व्यवस्था गरेको छ । त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द छन् । अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।