लुम्बिनी

क्यान्सर अस्पताललाई आइसोलेशन कक्षका रुपमा प्रयोग गरिने

राँझा । बाँकेमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई पनि आइसोलेशनका रुपमा प्रयोग गरिने भएको छ ।

स्थानीयस्तरबाट नेपालगञ्जस्थित भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल र नेपालगञ्ज शिक्षण अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएकोमा प्रदेश ५ सरकारको निर्देशनमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पनि आइसोलेशन बनाउने प्रक्रिया अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार, प्रदेश नं। ५ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी नेतृत्वको टोलीले मङ्गलवार अस्पतालको अवलोकन तथा बैठक गरी कोरोना भाइरस सङ्क्रमितहरुको उपचारका लागि आइसोलेशन अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नेगरि विभिन्न निर्णय भएपछि क्यान्सर अस्पताललाई पनि अव आइसोलेशनको रुपमा प्रयोग गर्न सकिने भएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा व्यवस्था मिलाउने गरि भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि बाँके जिल्लामा रहेका सरकारी, निजी तथा मेडिकल कलेज, नेपाली सेना र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका साथै थप आवश्यक भए करार सेवा लिन छोटो प्रक्रिया अपनाएर खटाउनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा ८ सदस्यीय उपसमिति समेत गठन गरिएको बताए ।

कोरोना भाइरस सङ्क्रमित विरामीलाई उपचारको लागि लायन्स डेण्टल अस्पतालमा ४०, भेरी अस्पतालमा ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा करिब ५ शैय्याको आइसोलेशन कक्ष तयारी अवस्थामा छ । यस्तै महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरिएको छ ।
बाँकेमा सङ्क्रमण फैलिन नदिन शङ्कास्पद विरामीको लागि क्वारेन्टाइन, आइसोलेशन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल र लायन्स डेण्टल अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन सञ्चालनमा आइसकेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी क्वारेन्टाइनका लागि चिकित्सक, स्वास्थ्यकर्मी लगायत आवश्यक सबै व्यवस्था मिलाइएको छ ।