पु.समाचार

निर्माण व्यवसायीका तर्फबाट एक करोड सहयोग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी कोषबाट कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ ।

महासङ्घको बैठकले विश्वमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई रोकथामका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव रोशन दाहालले देशमा परेको विपत्तिको सामना गर्नका लागि निर्माण व्यवसायीले समेत सरकारलाई हातेमालो गर्न उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।

महासङ्घले आज बिहानदेखि चैत १८ गते साँझसम्म सरकारले गरेको ‘लकडाउन’को निर्णयको स्वागत समेत गरेको छ । कोभिड–१९ भाइरसका कारण आउनसक्ने विषम परिस्थितिको पूर्वतयारीअनुसार गरिएको ‘लकडाउन’को निर्णय महासङ्घले स्वागत गर्दछ”, महासचिव दाहालले भने ।

महासङ्घले ‘लकडाउन’को समयमा निर्माण व्यवसायी सदस्यले आआफ्नो निर्माण कार्य बन्द गरी घरभित्र सुरक्षितरुपमा बस्न सबैलाई आग्रहसमेत गरेको छ । अहिलेको असहज अवस्थामा समेत अतिआवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिनसमेत महासङ्घले अनुरोध गरेको छ ।