समाचार

राष्ट्रियसभा उपाध्यक्षद्वारा कोरोना नियन्त्रण कोषमा एक महिनाको तलब

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक महिनाको तलब प्रदान गेकी छिन् ।

उपाध्यक्ष दाहालले सङ्घीय संसद्, सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी हुन् ।

उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि आग्रह गरेकि हुन् । उनले कोरोना भाइरसको सङ्क्रमण जोखिम नेपालमा पनि रहेकाले सङ्क्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन अनुरोध गरेकी छिन् ।

कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ ।

उपचार कोषमा यसअघि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्षले एकएक महिनाको तलब जम्मा गरेका थिए ।